काठमाडौं– प्रधानमन्त्री केपीशर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छन् । उद्योग–वाणिज्य प्रबद्र्धन सम्वाद परिषदको प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उत्पादनका नयाँ क्षेत्र पहिचान गर्ने त्यसलाई कार्यन्वयन गरेर दुई अंकको आर्थिक वृद्धि सहित समृद्धि हासिल गर्न धेरै समय नलाग्ने प्रधानमन्त्री ओलीको दाबी छ । ‘परम्परागत ढंगले धान फलाएर, गहुँ फलाएर वा आलु फलाएर मात्र आर्थिक वृद्धि हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘खनिज पदार्थको उत्खनन् र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमतसहित देश निर्माण गर्ने दुरदर्शी योजना भएको सरकार भएकोले यसमा शंका नगर्न सबैलाई आग्रह गरेका छन् । ‘बहुमतले मात्र देशको विकास हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘विगतमा पनि बहुमतका सरकार थिए तर केही भएन । अहिले देश निर्माणको ठोस योजना सहितको दुई तिहाईको सरकार भएकोले देश बन्छ, यसका लागि सबै क्षेत्रको साथ सहयोग चाहिन्छ ।’
देश निर्माणको प्रमुख आधार सुशासन भएकोले त्यसको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । लोकतन्त्र राजनीतिक हक अधिकार प्राप्तिको विषयमात्र भन्दा पनि आमजनताको जीवनमा सुखको अनुभुत गराउने माध्यम हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा भएका नीतिगत अफ्ठ्याराहरुलाई सजिलो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘सरकार र निजी क्षेत्रका चाहनाहरु कहिलेकाँही नमिल्न सक्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर यथासक्य सरकार लचिलो भएर ऐन कानुनलाई परिमाजर्न गर्न तयार छ ।’
संघीय संसदको आगामी अधिवेशनमा आफ्ना आफ्ना क्षेत्रमा भएका ऐन कानुनका अफ्ठ्यारालाई लिपिबद्ध गरेर संसद सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘संसदको आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐन कानुनहरु कारणसहित पेश गर्नुहोस हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३