काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू वौद्धिक उचाईसँग हैरान भएको बताएका छन् । बिहिबार जनताको जलविद्युत् आयोजना शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू बौद्धिक उचाईसँग हैरान भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो धारणा र योजनालाई नकारात्मक टिप्पणी गर्नेहरु र प्रत्येक योजनाको आधार खोज्ने बौद्धिक जमात रहेको भन्दै उनीहरुको ‘उचाई’का कारण हैरानी भएको बताएका हुन् । आफूले नेपालीहरुको सुख प्राप्तिका लागि यस्तो योजनाहरु अघि सारे पनि सुख प्राप्तिका आधार खोज्ने गरेको भन्दै टिप्पणी गर्न बौद्धिक जमात आतुर रहेको बताए ।
नेपालीहरु सबै चीज भएर पनि गरीब रहेको भन्दै आफूले सुख प्राप्तिको साझा आकांक्षाका लागि काम गरिरहेको बताए । तर सुख प्राप्तिका साझा आकांक्षाको कुरा गर्दा पनि कतिपय बौद्धिक उचाई भएकाहरुलाई आधार चाहिएको भन्दै उनीहरुसँग हैरान बनेको बताएका हुन् ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ सुरु भएको जनताको जलविद्युत् आयोजनाले अब देशको काँचुली फेर्ने पनि दाबी गरे । यो जनताको साझा कार्यक्रम भएकाले यसले सफलता हासिल गर्ने पनि उनले दाबी गरेका छन् ।
यो सरकारले एक वर्षमा विकासमा धेरै आधार तयार पारेको भन्दै अब कसैले पनि विकासलाई रोक्न नसक्ने दाबी गरे । ‘अब नेपालले अविकसित देशबाट विकासशील देशका रुपमा पाइला सार्नेछ । आगामी १० वर्षभित्र नेपालले विकासको काँचुली फेर्नेछ’ ओलीले भने ।
अबको ३५ दिन अर्थात् चैत ७ गतेबाट जलविद्युत्को शेयर खुल्ने भन्दै पहिलो शेयर खरिद आफूले गर्ने पनि घोषणा गरे । उर्जा मन्त्रालयले बिहिबार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गर्दै बैंकले दिने ब्याज बराबरको ब्याजसमेत दिने गरी जनताको लगानीबाट आयोजना बनाउने घोषणा गरेको हो ।
३ हजार ५ सय मेगावाट क्षमताको १९ वटा आयोजना निर्माणमा झण्डै ७ खर्ब खर्च हुने भन्दै त्यसको ३० प्रतिशत रकम जनताको लगानीबाट उठाउने घोषणा गरेको हो । जनताले शेयरमा गर्ने लगानी भने जम्मा १ खर्ब २ अर्ब रुपैयाँ रहेको उर्जा मन्त्रालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३