काठमाडौं । मंगलबार पाँचवटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गरेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सञ्चार माध्यमसँग भने गुनासो गरे ।
उनले आफूले विस्तारै विस्तारै राम्रो काम गरिरहे पनि सञ्चार माध्यमले चासो नदिएको बताए ।
उनले सञ्चार माध्यमले महानगरपालिकाको सकारात्मक कामबारे नलेखेको गुनसो पनि गरे । ‘मिडियालाई पनि हट–हट (तातो) न्युज चाहिने रहेछ, मेयर कुल–कुल (शितल) परेको चाहिँ थाहा छैन,’ उनले भने ।
उनले धुलो सिर्जना गर्ने निर्माण व्यवसायीलाई पनि खबरदारी गर्न पत्रकारलाई आग्रह गरे । ‘धरहरा क्षेत्र, बसपार्क क्षेत्रमा भइरहेको कामले सडकमा धुलो आइरहेको छ, त्यसमा पनि तपाईंहरुले लेखिदिनुपर्यो’, उनले भने ।
सडक विभागको बिग्रिएको ब्रुमरको अपजससमेत महानगरपालिकालाई थोपरिएको भन्दै उनले गुनासो गरे ।
‘एउटा पुरानो ब्रुमरको माथि जाली फुटेको रहेछ, तलबाट धुलो टिप्दै माथिबाट फाल्ने ब्रुमर भनेर मिडियामा समाचार आयो, यो मेयरले भ्रष्टाचार गरेको रहेछ भनेर लेखे, हट हट न्युज आएछ, सेयर पनि सयौं भएछ, त्यो सडक विभागको हो, हामीले किनेको होइन’, मेयर शाक्यले प्रष्टिकरण दिए ।
सञ्चार माध्यमसँग विगतमा पनि सहकार्य गर्न नसकेको भन्दै मेयर शाक्यलेसकारात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
‘पेटिकोट लाएर जुलुस निकाल्यो भने सबै मिडियामा आउँछ, एक जना नांगो भएर सिंहदरबार अगाडि उभियो भने सयौं जना जान्छ, सबै मिडियामा कभर न्युज बन्छ, राम्रो काम चाहिं न्युज नै बन्दैन, मिडियालाई पनि हट हट न्युज चाहिने रहेछ’, उनले थपे ।
मेयर शाक्यले ब्रुमर किन्न खोज्दा अनेकन शंका आशंका गरिएको भन्दै सानो योजना पूरा गर्दा पनि ठूलो युद्ध नै जितेजस्तो हुने अवस्था सरकारी क्षेत्रमा रहेको सुनाए । ‘निजी क्षेत्रले गर्ने हो यो काम २ महिनामा सकिन्थ्यो,’ मेयर शाक्यले भने ।
साँघुरा सडकमा पनि ब्रुमर चल्ने
मेयर शाक्यले साँघुरा सडक र गल्लीमा पनि ब्रुमर चलाउने योजना रहेको बताएका छन् । मंगलबार ५ वटा ब्रुमरमार्फत सडक सफाइको उद्घाटन गर्दै उनले अब तत्कालै दुईवटा थप्ने जानकारी गराए ।
‘अब नयाँ ब्रुमर चल्न थालेपछि मेरो क्षेत्रमा सडक सफा गरिएन भनेर गुनासो आउँछ,’ उनले भने, ‘हामी फाराकिला सडकमा मात्रै हैन ३ मिटरसम्मका साँघुरा सडकमा पनि ब्रुमर लगाएर सफा गर्छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३