काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसका संक्रमितले उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे सरकारले उपचार गरिदिने बताएका छन्।
शुक्रबार भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबारे विभिन्न अफवाहहरू फैलिए पनि ती सत्य नभएको बताए।
‘महामारीमा नागरिकको रक्षा गर्नु सरकारको नि:सर्त दायित्व हो। तपाईंहरू मतबाट निर्वाचित सरकार त्यो दायित्वबाट विमुख हुन सक्दैन/भएको छैन,’ प्रधानमन्त्री ओलीले भने,‘तपाईंहरू निश्चिन्त हुनुस् कोरोना संक्रमितको परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्छ।’
केही दिनअघि सरकारले स्वास्थ्यकर्मी, सफाइकर्मी र गरिब नागरिकको मात्र उपचार सरकारले गर्ने बताएको थियो। सरकारको उक्त निर्णयको चौतर्फी विरोध भएको थियो।
प्रधानमन्त्री ओलीले त्यस्तो विरोधलाई अफवाह र हल्ला बताएका छन्। सरकारले हुने र नहुने सबैको स्वास्थ्य सेवामा समान पहुँच बनाउन त्यस्तो आग्रह गरिएको बताएका छन्।
‘केही दाजुभाइ तथा दिदी बहिनीले आफ्नै खर्चमा निजी अस्पतालमा उपचार गरिरहनुभएको छ। त्यो उहाँहरूले राज्यलाई गरेको सहयोग हो,’ प्रधानमन्त्री ओलीले भने,‘सक्दिनँ भनेर स्वघोषणा गरेका सबैको उपचार सरकारले गर्छ।’
उनले सरकारले प्रभावकारी कदम चालेकाले नै नेपालमा कोरोनको मृत्युदर ०.६ प्रतिशत माथि नगएको दाबी गरे।
प्रधानमन्त्री ओलीले यसपालि पोहोर-परारभन्दा फरक तरिकाले दशैं मनाउन पनि आग्रह गरेका छन्।
‘जो जहाँ छौं त्यहीँ दशैं मनाउन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘मैले पनि यसपालि बालुवाटारमा सार्वजनिक टीका ग्रहणको कार्यक्रम नराख्न निर्देशन दिइसकेको छु।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७