कार्यकारी अध्यक्ष दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा एकल राजनीतिक प्रतिवेदन पेस गरेपछि एकअर्काबीच शत्रुको जस्तै व्यवहार हुन थालेको ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा जेजे विषय उल्लेख गरिएका छन्, ती प्रतिपक्षी दलका नेताले लगाउने लाञ्छनापूर्ण आरोपका पुलिन्दा हुन्,’ ती सदस्यले भने, ‘व्यवहार निकै शत्रुतापूर्ण भएको छ । त्यसकारण अहिले दुवैजना एक ठाउँमा बस्न सक्ने अवस्था छैन ।’
अहिले ओली लचिलो हुन खोजे पनि दाहालले आफ्नो अडान नछाडेपछि झन् समस्या भएको ती सदस्यले बताए । ‘दाहालको एकल प्रतिवेदन आए पनि केही छैन, मिलेर जान केके गर्न सकिन्छ भनेर ओलीले केही साथीसँग छलफलसमेत गर्नुभयो तर दाहालले अब बैठकबाटै छिनोफानो हुने भनेपछि ओलीबाट पनि अर्को प्रतिवेदन तयार पार्ने कुरा भएको हो,’ ती सदस्यले भने, ‘अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीको प्रतिवेदन पेस हुन्छ ।’
पार्टी महासचिव विष्णु पौडेलले भने अध्यक्षद्वयबीच संवादको ढोका बन्द नभएको दाबी गरेका छन् । नागरिक दैनिकबाट