काठमाडौं – प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ ।
भेलामा दाहाल र नेपाल, नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सांसदहरु सहभागी छन् ।
तर रामबहादुर थापा र वामदेव गौतम भने उपस्थित भएका छैनन् । हिजोसम्म संसद विघटनको विपषमा देखिएका गौतम उपस्थित नभएकामा आश्चर्यका रुपमा लिइएको छ ।
थापा भने प्रधानमन्त्री ओलीको पक्षमा रहेपनि यकिनरुपमा स्पष्ट गरेका छैनन् ।
दाहाल र नेपाल पक्षका ९० भन्दा बढी सांसद संसद भवनमा भेला भएको जनाइएको छ ।
यसअघि सोमबार बिहान मात्रै प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुको भेला बालुवाटारमा गरेका थिए ।
भेलामा सहभागी भएका सांसदहरुको हस्ताक्षर समेत गरिएको छ । संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने भन्दै हस्ताक्षर गराइएको हो ।
यसक्रममा अरु पार्टीका सांसदको पनि हस्ताक्षर गराइने बताइएको छ ।
प्रतिनिधि सभामा १३८ सांसद भएमा बहुमत पुग्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७