काठमाडौँ – नेकपाको प्रचण्ड-माधव नेपाल पक्षद्वारा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । थापाथलीमा बिहीबार बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ ।
यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । यसैगरी पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ भने राजधानीमा थप सशक्त प्रदर्शन गर्ने घोषणा गरिएको छ ।
यस्तै पुस २० गते सम्म सबै नगर, गाउँ पालिकामा पार्टीको बैठक र भेला हुने छ भने २५ गतेसम्म सबै वडास्तरमा पार्टीका बैठक र भेला आयोजना हुनेछन् ।
यस्तै दोस्रो चरणमा अझै सशक्त र नेपाल बन्दसम्मका कार्यक्रम गर्ने चेतावनी दिइएको छ । हाल प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय आन्दोलन परिचालन समिति गठनको प्रस्ताव गरिएको छ ।
पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर प्रदेशमा तत्काल स्थायी कमिटीका सदस्यहरुलाई जिम्मेवारी थप गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७