काठमाडौं – प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि एक हप्ता पर सरेको छ । आज एकजना न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि सुनुवाई २९ पौषका लागि सरेको हो ।
संवैधानिक इजलासबाट नभई वृहत पूर्ण इजलासबाट सुनुवाईको निवदन समेत परेको छ । २९ पौषमा पनि संवैधानिक इजलासमा सुनुवाई हुने बुझिएको छ । संवैधानिक वा वृहत पूर्ण इजलासमध्ये कुनमा सुनुवाई हुने त्यसपछि तय हुनेछ ।
आजै दिउँसो न्यायाधीश कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गरेपछि प्रधानन्यायाधीशसहित इजलासमा रहेका न्यायाधीशहरुले छलफल गरेपछि उनी बाहिरिने घोषणा गरेका थिए । कार्कीलाई विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उनले यसबारे प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापा र मुक्ति प्रधानले पनि आज केपी ओलीले विगतमा महान्यायाधिवक्तामा नियुक्र गरेको भन्दै मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।
यसअघि प्रतिनिधिसभा बिघटनमाथि परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका थिए । अब कार्की हटेका छन् । उनी बाहिरिएपछि संवैधानिक इजलास वा वृहत पूर्ण इजलासमध्ये कुनमा सुनुवाई हुने चासो बढेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७