काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।
ओलीले पार्टी अनुशासनविपरीतका गतिविधि र राज्यस्रोतको दुरुपयोग गरेको तथा पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर छ । प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै प्रचण्ड नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो । बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताए । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेतलाई चयन गरेको छ ।
त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताए । बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ । प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ । त्यस्तै भारतीय मिडीया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रवन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउदा पनि सरकार मौन रहेको भन्दै बैठकले भत्र्सना गरेको रावलले बताए ।
त्यस्तै सरकारले सरकारी साधन र श्रोतहरुको दुरुपयोग गरिरहेको, प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा सरुवा गर्ने काम गरिरहेको तथा सरकारी सञ्चार माध्यमहरुलाई लोकतन्त्रको मूल्यमान्यता बिपरित सञ्चालन गरेको भन्दै स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन पनि बैठकले माग गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३