काठमाडौं – प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले दुनियाँलाई रुवाउँदा आफूले हँसाएँको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । प्रचण्ड र नेपाललाई आफूले जनता हँसाउँदै हिड्दा चिन्ता भएको उनले टिप्पणी गरेका हुन् ।
‘उहाँहरुलाई केपी ओलीले मान्छे हँसाउँदै हिड्दा चिन्ता छ । के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौँ । म बालबालिका, किशोर किशोरी, युवा, दाजुभाइ दिदीबहिनी, बा–आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छु । मजदुरमा मुस्कान ल्याउन चाहन्छु । उनीहरुका आँखामा आँसु हुनु हुँदैन’, ओलीले भने, ‘उनीहरुले दुनियाँ रुवाएर । कसैको घोडा खोसेर रुवाए । कसैलाई गाडी खोसेर रुवाए । कसैको खेत खोस्या छ । कसैको घर र पैसा खोस्या छ । रुवाउने अनेक काइदा छन् । मारेर, कुटेर, लुटेर पनि रुवाएको छ । अनि मैले हँसाएँ भनेर कुरा गरिराखेका छन् । जता गए पनि हँसाएर मख्ख पार्यो भनेको छ । नेपाली जनता हाँस्दा किन पीर परेको हो ?’
ओलीले नेपाली जनता खुशी भएर हाँसेको दाबी गर्दै अब कसैले रुवाउन नसक्ने बताए । ‘रुवाउन खोजेका थियौँ सकेनौँ । हामीले रुवाउँन दिएनौँ । अब पनि रुवाउन सक्तैनौँ । रुवाउँन दिइने छैन’, उनले भने ।
अहिले देश बर्बाद पार्न नपाउँदा प्रचण्ड–नेपाललाई चिन्ता भएको उनको भनाइ छ । उनले अहिलेको उपलब्धिलाई कसैले तलमाथि पार्न नसक्ने दाबीसमेत गरेका छन् ।
‘देश बर्बाद पार्न नपाउँदा उहाँहरुलाई चिन्ता हो । उहाँहरुले देश बर्बाद पार्न खोज्नु भएको थियो’, उनले भने, ‘हाम्रो उपलब्धि कसैले तलमाथि गर्न सक्ने छैनन् । नेपाली जनता सचेत र सजक छन् । देश प्रतिगमनतर्फ फर्किन सक्दैन । अन्यायतर्फ होइन न्यायतर्फ अगाडि बढ्छ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३