काठमाडौैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमित हुँदाहुँदैपनि ओलीले उक्त सहमति नमान्दा वातावरण बिग्रिएको स्पष्ट पारेका छन् ।
आज (सोमबार) आफू पक्षधर २ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘पार्टी एकिकृत हुँदा एउटा १ नम्बर र अर्को २ नम्बर भन्ने थिएन् । हामी दुवै अध्यक्षको हैसियत समान थियो । पालैपालो अध्यक्षता गर्ने स्थायी समिति र केन्द्रिय समितिले पास गरेको थियो । अध्यक्षता गर्ने क्रममा जसले अध्यक्षता गरेको छ उ एक नम्बर र अर्को २ नम्बर हुने भनेर माइन्यूटमा नाम लेखिएको थियो ।’
उनले सरकारको नेतृत्व पनि पालैपालो भन्ने सहमति भएको स्मरण गराए । उनले भने,‘सरकारको नेतृत्व पालैपालै गर्ने भन्ने सहमति थियो तर केपी ओलीले पद्धती मान्नु भएन र त्यहीँबाट सहमति भत्किन सुरु भयो । अहिलेको पार्टी पहिलाकै सहमतीमा चल्नपर्छ भनेका छौ । अहिले आफुले अध्यक्षता गरेको बेलामा म एक नम्बर र माधव नेपालले अध्यक्षता गरेको बेलामा माधव एक नम्बर प्रणालीबाट अघि बढेका छौं ।’
उनले प्रधानमन्त्री ओलीले अनुशासनहिन काम गरेकोले आफूहरुले सच्याएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले सच्चाएका छौं । हिजोको स्थायी कमिटीको बैठक माधव कुमार नेपालको अध्यक्षतामा सम्पन्न भयो, उहाँ एक नम्बर हुनु भयो । अर्कोपल्ट मैले गर्छु, त्यतिवेला म एक नम्बर हुन्छु । यो एउटा संस्कार, शैली र निर्णयको कुरा पनि हो । पार्टीमा सामूहिकता र एकतालाई जोड दिने मौका हो ।’
दाहालले यही माघ ९ गते काठमाडौंमा आयोजना गरेको बृहत्त विरोध कार्यक्रममा वक्ताहरु चयन गर्दा समावेशी बनाउन नसकिएको स्विकारे । उनले भने,‘अब आउने कार्यक्रमको हकमा समावेशी हुने र यस्ता त्रुटि हुन नदिने सकल्प गर्दछु ।’ नेपालको कम्युनिष्ट आन्दोलनमा, नेपालको सामन्तवाद आन्दोलनमा अहिलेको प्रदेश नम्बर २ को भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै दाहालले भने–‘नेपालका हरेक परिवर्तनशील आन्दोलनमा दुई नम्बर प्रदेशको पहलकर्ता र अग्रणी भुमिका छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा निरंकुशता विरोधी आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको कुरा हो यो कसैले मेट्न सक्दैन् । २००७ साल, ००८ साल र ००९ सालतिर बारा, पर्सा र रौतहटतिर भएका किसान संघर्षहरु, सामन्तहरुले किसानहरुलाई हेपेर बोल्ने प्रवतिविरुद्ध भएका आन्दोलन र संघर्षहरु वा सर्लाही सिराहा, धनुषा, महोत्तरीदेखि सप्तरीमा भएका ठुला–ठुला किसान संघर्षहरु इतिहासमा दर्ज भएका छन् ।’
तराईका जनता र किसानलाई आफूले सम्मान गरेको सुनाउँदै दाहालले भने,–‘जसले आन्दोलनको अग्रणीको रुपमा सिंगो राष्ट्रलाई नै उर्जा प्रदान गर्यो । सिंगै राष्ट्रलाई के पहाड ? के हिमाल ? कम्युनिष्ट आन्दोलनको विस्तार र त्यसको विकासलाई मधेसलाई हेरेर भयो ।’ उनले आफु कम्युनिष्ट आन्दोलनमा लाग्ने सोच बनाउदै गर्दा तराईकै किसान संघर्षले नै उर्जा र उत्प्रेरणा प्राप्त भएको पनि स्मरण बताए ।
उनले सामन्ती निरंकुशतातीर देशलाई धकेल्ने दुष्साहसकाविरुद्ध प्रतिगमन र प्रतिक्रान्त्रितिर देशलाई धकेल्ने र देशलाई अराजकतातीर धकेलिएको भन्दै त्यसको विरुद्धमा आफूहरु संघर्षमा उत्रिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले धेरै वर्ष लगाएर बनाएको उपलब्धिलाई उल्टाउने षड्यन्त्रका विरुद्ध सबैभन्दा दरो रुपमा प्रदेश नम्बर २ बाट नै परिचालित भएको छ । मधेशले यो ऐतिहासिक विरासतलाई कायम राखेकोमा खुशी व्यक्त गर्दछु ।’
दाहालले अहिलेको ओलीको प्रतिगमनलाई हरहालतमा पराष्त गर्नैपर्ने पनि बताए । उनले भने–‘ओलीको प्रतिगमनलाई हराउनु यो राष्ट्र र जनताको निम्ति हो । अझ हिजोको सामन्ती राज्यद्धारा पीडित, अपहेलित र दमनमा पारिएका मधेसी आदीवासी जनजाती महिला मुस्लिम सबै विभेदमा पारिएका क्षेत्रका जनता सबैको लागि यो जीवनमरणको संघर्ष हो ।’
दाहालले नेपालको संविधान २०७२ ले समावेशितालाई स्विकार गरेको बताए । ‘यो संविधानले समानूपातिक प्रतिनिधित्व प्रणालीलाई सिस्टमलाई स्विकार गरेको छ । यसले गणतन्त्रलाई स्थापित गरेको छ । यसलाई उल्टाउने दुष्साहस देखा परेको छ । कम्युनिष्ट पार्टीभित्र घुसेका सामन्ती निरंकुशताका एजेन्टहरुले जुन दुष्साहस गरे । नेपाली जनताले २१ वर्षको पुरानो राजतन्त्र तथा २५० वर्षको पुरानो शाही शासनलाई ढाल्ने पहल गरियो त्यो पनि नेपाली जनताले देखाएको बताए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुष्साहसले राष्ट्रलाई नै भुमरीमा हाल्ने, संविधानलाई भत्काउने, संवैधानिक गणतन्त्र भत्काउने, समावेशी समानुपातिकतालाई भत्काउने दुष्साहस भएको उनको टिप्पणी छ । उनले भने–‘अब फेरी आफ्नो ऐतिहासिक क्रान्तीकारी विरासतलाई नयाँ उचाईमा उठाएर २ नम्बर प्रदेशले पहल लिनुपर्ने आवश्यकता छ । प्रदेश नम्बर २ मा जनप्रदर्शन गर्ने भने पनि काठमाडौंमा अस्तिको भन्दा ठुलो जनप्रदर्शन र जनासभा गर्नुपर्छ ।’ उनले काठमाडौँलाई टाउकोको संज्ञा दिँदै अबको आन्दोलन विगतको भन्दा झनै ठूलो हुने र टाउकोमा हानेर मात्र चोट लाग्ने टिप्पणी गरे ।
उनले अबको आन्दोलनमा सहभागी हुनको लागि प्रूदेश नम्बर २ बाट पच्चिस हजार आईदिनुपर्ने पनि अपिल गरे । उनले भने,‘अस्तिको कार्यक्रमले ठुलो तरंग गएको छ । मिती घोषणा भएपछि अझै भव्य र अझ हिमाल, पहाड र तराई जनजाती महिला झल्कनेगरि फेरी उतार्नेछौं । अबको आन्दोलनमा सबैले उपस्थिति जनाएर कार्यक्रम सफल तुल्याउन आग्रह गर्दछु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३