सप्तरी – संसद विघटनपछि नेकपाको दुवै समूहबीच आफ्नो पक्षमा जनमत रहेको देखाउन शक्ति प्रदर्शनको होडबाजी चलेको छ ।
राजधानीसहित देशका विभिन्न स्थानमा दुवै समूहका भेला, प्रदर्शन र सभा भइरहेका छन् । सर्वसाधारण दुवै समूहको तानातानमा परेका छन् । ९ माघमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डुमा राम्रै शक्ति प्रदर्शन गर्यो । सोही दिन आफ्नो समूह निकट पेशागत महासंघका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपालले देशभरबाट अलिअली मानिस जम्मा पारेको टिप्पणी गर्दै जनमत कसको पक्षमा छ भन्ने हेर्न २३ माघसम्म कुर्न भनेका थिए । २३ माघमा ओली समूहले राजधानीमा जनसभा गर्दैछ ।
आफ्नो पक्षमा भिड देखाउने होडबाजीमा सप्तरीमा सरकारी नेकपाको कार्यक्रममा दुई सय रुपैयाँ भत्ता र खाजा खुवाउने आश्वासन दिएर सर्वसाधारणलाई जम्मा पारिएको खुलासा भएको छ । राजविराजस्थित राजरंगशालामा मंगलबार आयोजित ओली समूहको आमसभामा सहभागी हुन आउनेलाई पैसाको लोभ देखाइएको हो । सभालाई ओली समूहका नेता एवं बिना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । सभामा सहभागी हुन आएकी मुक्तादेवी सदाले ओली समूहका स्थानीय नेता दुर्गा ठाकुरले आफूहरुलाई पैसा र खाजा खुवाउने भन्दै ट्याक्टरमा राखेर कार्यक्रमस्थलमा ल्याएको बताइन् ।
सप्तरी गोइठीका परमेश्वर सदाले पैसा लिएर आफूहरु कार्यक्रममा आएको स्वीकार गरे । उनले आफ्नो टोलबाट मुसहर समूदायका करिब ७० जना सभामा उपस्थित भएको उल्लेख गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३