ललितपुर – विभिन्न राजनीतिक पार्टीमा आबद्ध रहेका ७६ जना शनिवार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिवार ज्वागलमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १, १० र ११ मा सक्रिय रहेकाहरुले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले स्वागत गर्दै कम्युनिष्ट आन्दोलनलाई जोगाउँदै समाजवाद स्थापनाको अभियानमा लाग्न आग्रह गरे ।
कार्यक्रममा वडा नं १ बाट प्रवीन थापामगरको नेतृत्वमा २० जना, वडा नं १० प्रचिन खड्काको नेतृत्वमा १० जना र राप्रपा नेपालका वडा नं १० का पूर्वअध्यक्ष राजेश कुमार अमात्यसहितको टोली एकीकृत समाजवादीमा प्रवेश गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपा (एस)का केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णलाल महर्जनले विधि वेगरको भीडले देशलाई निकास दिन नसक्ने भएकाले नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरिएको बताए । एकीकृत समाजवादीले समाजवादी कार्यक्रममार्फत आम नागरिकको समृद्धिको चाहना पूरा गर्ने उनको जिकिर थियो ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज उमेश शर्मा बजगाईले समाजवाद पक्षधर र समाजवाद विरोधीको स्पष्ट कित्ताकाट गर्ने गरी कम्युनिष्ट आन्दोलनमा भएको यो विद्रोहले इतिहास निर्माण गर्ने बताउँदै ०१७ सालमा राजा महेन्द्रको कदमलाई समर्थन गर्ने रायमाझीपछिको दोश्रो कुलंघार केपी ओली भएको टिप्पणी गरे ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटिले आयोजना गरेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना, केन्द्रीय परिषद् सदस्य रामसिं महर्जन, वागमती प्रदेश कमिटि सदस्य डा.माधव कोइराला, श्रीगोपाल महर्जन लगायतको सहभागिता रहेको जिल्ला कमिटिका सचिव सुदर्शन मिश्रले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३