काठमाडौँ – एमाले केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गर्न सक्ने चेतावनी दिएका छन् ।
थापाले संविधानको पालकका हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्न मिल्ने तर्क गरे । ०५९ सालमा निर्वाचन गराउन असक्षम भएको आरोपमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरेको स्मरण गर्दै उनले यसपटक पनि त्यस्तै अवस्था आएको बताए ।
आवधिक निर्वाचन गराउन नसक्ने, संविधान पालना नगर्ने, संविधानको धज्जी उडाउने र लोकतन्त्रविरुद्ध गतिविधि गरेकाले देउवालाई राष्ट्रपतिले बर्खास्त गर्न सक्ने उनको भनाइ थियो । संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री हटाउन मिल्ने उल्लेख नभएको स्वीकार गर्दै थापाले तर, नियन्त्रण र सन्तुलनका धेरै चिज संविधानमा भएको उल्लेख गरे । राष्ट्रपतिले नहटाए जनता उठेर देउवालाई ‘मुण्ट्याउँने’, चेतावनी उनले दिए । ‘आवधिक निर्वाचन नगराराई सरकारमा टाँसिइरहने भए शेरबहादुर देउवाको काम के छ ?’, नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग सोमबार बिहान उनले भने, ‘उहाँ किन प्रधानमन्त्री हुनुप-यो ? ‘कालेकाले मिलेर खाउँभाले’ भन्न देश लुट्न उहाँ प्रधानामन्त्री हुनुपर्ने ?
फरक प्रसंगमा थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई दबाब दिएको नभई आवधिक निर्वाचनको मर्म, संविधान र कानूनअनुसार निर्वाचन गराउन सचेत मात्र गराएको भन्दै बचाउ गरे । राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्री देउवालाई बोलाएर निर्वाचन गराउन लिखित निर्देशन दिएकी थिइन् । राष्ट्रपतिको उक्त कदमलाई सत्तारुढ पाँच दलीय गठबन्धनले कार्यकारीमाथिको असंवैधानिक हस्तक्षेप भनेको छ ।
शनिबारको सत्ता गठबन्धन बैठकमा उनीहरुले एमाले अध्यक्ष केपी ओलीले पटकपटक संसद विघटन गर्ने तथा संविधान, विधि र पद्धतिविपरीत अध्यादेशमार्फत मुलुक चलाउँदा बेरोकतोक सहयोगी भूमिकामा देखिएकी राष्ट्रपतिको अनावश्यक सक्रियता निन्दनीय भएको बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३