आज दिनभर नेपाली सञ्चारमाध्यमका ‘मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा,’ ‘जनताका कुरा सुन्न समुदायमा कांग्रेस अभियान,’ ‘आजदेखि सहिद सप्ताह सुरु,’ ‘शास्त्रीको सालिकमा माल्यार्पण,’ ‘मिटरब्याजपीडितले माघ १६ देखि न्याय मार्च सुरु गर्ने,’ ‘स्वस्थानी मेलाका लागि शालीनदी क्षेत्र तयार’ लगायत शीर्षकका समाचारले स्थान पाए ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गतेलाई आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसदका हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।
आजै नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।
गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
त्यस्तै, आज, उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भेराइवल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा खरिद ऐनविपरीत खरिद गरी भुक्तानी तिरेको अनुसन्धानबाट खुलेको भन्दै उनीहरुमाथि विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
समग्रमा आज, ‘राष्ट्रपतिद्धारा संसद अधिवेशन माघ २२ लाई आह्वान,’ ‘पत्रकार भट्टराईले ल्याए झापा विद्रोहका ‘२८ साल’,’ ‘वाणिज्य बैंकको अवस्था सुधारतर्फ,’ ‘दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो,’ ‘कहाँ हराए २४ प्रहरी ?,’ ‘भिजिट भिसामा विदेश गएर नफर्किने बढेपछि सरकारले ग¥यो कडाइ,’ ‘सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरण : विकल पौडेल र सुनील पौडेल पक्राउ’ लगायत शीर्षकका समाचारहरु चर्चामा रहे ।
यी हुन् आजका प्रमुख समाचार :
सेक्युरिटी प्रिन्टिङ अनियमितता प्रकरण : विकल पौडेल र सुनील पौडेल पक्राउ
नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे अनियमितता प्रकरणका अभियुक्त पौडेलद्धयलाई बुधबार पक्राउ गरेको हो ।
गत २०८० असोज १५ मा आयोगले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सार्वजनिक सम्पत्ति हिनामिना गरेको र कार्यालयका सवारीसाधनहरुको दुरुपयोग गरि सम्पत्ति विदेश पठाउने कार्यमा संलग्न रहेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
बुधबार शान्तिनगर र मण्डिखाटारस्थित दुवैका घरमा छापा हानेको अख्तियारले कागजातसहित नियन्त्रणमा लिएको हो ।
मेची–महाकाली यात्रामा निस्किँदै गगन थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् ।
जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरुसँग साक्षात्कार गर्न उनले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लागेका हुन् । पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उनले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको बताएका छन् ।
‘अब तपाईसँग मेरो भेट तपाईकै गाउँमा, तपाईकै ठाउँमा हुनेछ,’ मंगलबार थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘समुदायमा कांग्रेस अभियानअन्तर्गत म माघ १३ गते झापाको भद्रपुर–५, मेचीपुल भन्सारबाट तपाईसँगको संवाद यात्रामा हुनेछु ।’
पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म महामन्त्री थापाले हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न लागेका छन् । कांग्रेसको आन्तरिक राजनीतिमा युवा पुस्ताबाट लोकप्रिय मतसहित पार्टीको नेतृत्वमा उदाएका महामन्त्री थापा गएको संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रत्यासी बनेका थिए ।
निकटस्थ नेताहरूका अनुसार थापा अब पार्टीको सभापति बन्ने तयारीमा छन् । यो यात्रालाई त्यसकारण पनि महत्वका साथ हेरिएको छ ।
महामन्त्री थापाले समुदायमा कांग्रेस अभियानका क्रममा हुने कार्यक्रमहरूमा सहभागी भएर जनताका कुरा सुन्ने बताएका छन् । यात्राका क्रममा औपचारिक कार्यक्रमहरु नगर्ने उनको घोषणा छ । एक जिल्लामा कम्तिमा ५ वटा कार्यक्रममा सहभागी हुने र सकेसम्म धेरै सर्वसाधारणका कुरा सुन्ने उनको तयारी छ ।
महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम छ ।
संवाद यात्रा माघ २६ गते सकिनेछ ।
राष्ट्रपतिद्धारा संसद अधिवेशन माघ २२ लाई आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन माघ २२ लाई आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको अधिवेशन माघ २२ गते सोमबारका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुने अधिवेशन दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
एनआरएनएको विवाद छानबिन सरकारद्वारा समिति गठन
नेपाल सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका क्रममा भएको भनिएका अनियमितताबारे छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।
गत असोजमा काठमाडौँमा आयोजित संघको ११ औं महाधिवेशनमा अनलाइनबाट गराइएको निर्वाचनमा योजनाबद्ध रुपमा धाँधली गरिएको भन्ने उजुरीहरु परेको तीन महिनापछि सरकारले छानबिन समिति गठन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताको कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, लेखा हेर्ने उपसचिव तथा एक प्रहरी वरिष्ठ उपरीक्षक रहने गरी छानबिन समिति गठन गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् । समितिलाई १५ दिनको म्याद दिइएको छ ।
११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानका क्रममा गम्भीर प्राविधिक त्रुटि भेटिएपछि दुई हप्ताभित्र छानबिन गरेर प्रक्रिया अघि बढाउने सहमतिविपरीत डा. बद्री केसी नेतृत्वको समूहले जबर्जस्ती शपथ लिएपछि संघ थप विभाजित बनेको थियो ।
अनलाइन मतदानमा अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम नै कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गर्दै बेग्लै अधिवेशन गरेका थिए । उनीहरुले शर्माको नेतृत्वमा अलग्गै कमिटी पनि गठन गरेका छन् ।
त्यस्तै १०औं महाधिवेशनबाट अलग भएका पूर्वअध्यक्ष शेष घले समर्थित कोरियाका विनोद कँुवरको नेतृत्वमा अलग्गै समिति क्रियाशील छ ।
एनआरएनए तीन समूहमा विभाजित हुँदा २०१३ को अक्टुवरमा १० वर्षका लागि परराष्ट्र मन्त्रालयमा दर्ता भएको संघ नवीकरण हुन सकेको छैन् । अक्टुवर १३, २०२३ देखि संघको आधिकारिकता सकिएको छ । परराष्ट्र मन्त्रालयले संस्था नवीकरण नगरी दिएको भन्दै बद्री केसी समूह सरकारविरुद्ध अदालत पुगेको छ भने आधिकारिकता बिना संस्थाको सम्पत्ति दुरुपयोग नगर्न शर्मा समूहले चेतावनी दिएको छ।
दोहोरो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ८९ करोडमा खुम्चियो
सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ । आइतबारदेखि ओरालो लागेको नेप्से साताको चौथो कारोबार दिनसम्म आइपुग्दा पनि रोकिएन ।
नेप्से १०.२५ अंकले घटेर २०८८.०४ अंकको बिन्दुमा झरेर बन्द भएको छ ।
बुधबार बैंकिङ समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् । ८० कम्पनीको सेयरमा बढोत्तरी छ भने १५३ को घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै गएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स छ । हिमालयनको २५ करोड १५ लाखको सेयर कारोबार भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १३ करोड र अरुण काबेलीको १२ करोडको कारोबार भएको छ ।
वाणिज्य बैंकको अवस्था सुधारतर्फ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकका वाणिज्य बैंकहरुको अवस्था सुधारतर्फ अघि बढेकाले ऋणको माग बढाउन ध्यान दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार राजधानीमा सम्बोधन गर्दै उनले केही घाटामा गएको देखिए पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै बैंकहरुलाई आश्वस्त पारे ।
गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बैंक धेरै आरोह अवरोह पार गरेर अहिलेको स्थितिमा आइपुगेको बताए । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको पहलमा यो संस्थालाई पुनःस्थापना गरिएको भन्दै उनले अहिले आर्थिक अवस्था सुधार हुँदै गइरहेको भनाइ राखे ।
उनले भने, ‘अहिले राष्ट्रिय वाणिज्य बैंकलगायत सबै वाणिज्य बैंकहरुको आर्थिक अवस्था निकै राम्रो हुँदै गइरहेको छ । नेपालका बैंकहरु अलिकति घाटामा गएको जस्तो देखिन्छ । हाम्रा अर्थतन्त्रका सूचकहरु नै यस्तै भएर हो । नेपालको क्रेडिट विस्तारै बढ्ला जस्तो हामीले देखेका छौं । त्यसैले हामीले पोलिसी रेट पनि घटाउने गरेका छौं । नेपाल राष्ट्र बैंकको आधार दर आठ प्रतिशत कायम गरेका छौं ।’
नेपाल राष्ट्र बैंकले मासिक, त्रैमासिक, अर्धवार्षिक प्रतिवेदनहरु सार्वजनिक गरिरहेको बताउँदै यसले अर्थतन्त्र सुधार हुँदै गइरहेको देखिएको उनले दाबी गरे ।
उनले भने, ‘अब अन्य वाणिज्य बैंकहरुले पनि अब १०.१० प्रतिशतको आधारदरभित्रै ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । यसले कर्जाको माग पनि बढ्दै जाने हामीले विश्वास लिएका छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३