

नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमा राखेर प्रस्तुत गरिने भएको छ । भक्तपुरको रोयल थाई हस्पिटालिटीमा आगामी भदौं ४ मा हुने भोजनलिपि स्वादको छैटौं संस्करणमा नेपाली र थाई परिकारको फुड सेलिब्रेसनका क्रममा यी दुई सुपलाई विशेष परिकारका रुपमा प्रस्तुत गरिने भएको हो । भक्तपुरको राधे-राधेस्थित रोयल थाईमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
खाना प्रस्तुतिमा दुबै देशका गरी करिव १ दर्जन परिकार प्रस्तुत गरिने नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिए । यसअघि नेपाली खानाका परिकारहरुमात्र प्रस्तुत गर्दै आएको अभियानले आगामी संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रुपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीहरुको ईच्छा पूरा गर्न लागेको संयोजक सापकोटाले बताए ।
नेपालमा पहिलो पटक नेपाली र थाई परिकारको संयुक्त खाना उत्सव आयोजना गर्न लागिएको रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकालले जानकारी दिए । नेपाली उत्पादन गुन्द्रुकलाई विश्व बजारमा लैजान विभिन्न अभियान आवश्यक भएको पनि उनले बताए ।
भदौ ४ गते खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजको अवसरमा महिलाहरुलाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको सेफ ढकालले पत्रकार सम्मेलनका क्रममा जानकारी दिए । कार्यक्रमलाई भव्य बनाउन नेपाल र थाइल्याण्डका उच्च अधिकारीलाई पनि आमन्त्रण गरिने सेफ ढकालले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली खानालाई विश्व बजारमा लैजान धेरै मिहिनेत गर्नुपर्ने भएकाले यसतर्फ जिम्मेवार सवै निकायले पहल गर्नुपर्ने बताए ।
भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाल र नेपाल बाहिरका तारे होटलका मेनुमा नेपाली खाना राख्न सकिने गरी भोजनलिपि स्वादले अभियान अघि बढाएको प्रतिवद्धता जनाए ।
त्यसबखत युवा सेफ बिक्रम भिक्स, इङ्वा सुब्बा, मानबहादुर तामाङ लगायतले नेपाली खाना प्रवर्धन अभियानमा सहयोगको निरन्तरताको प्रतिवद्धता जनाए । अभियानले यसअघि नेपाली खाना प्रवर्धन केन्द्रित विभिन्न पाँच संस्करण सम्पन्न गरिसकेको छ । नेपाली खाना प्रवर्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटी राधेराधेले संयुक्तरुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो ।


www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७