

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टकी अध्यक्ष सत्यकला तामाङलाई फिलिपिन्समा अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरिएको छ । शनिबार फिलिपिन्समा आयोजित एक कार्यक्रममा वर्ल्ड चेञ्जमेकर्स एण्ड एन्टरप्रेनरसिप अवार्ड २०२५ बाट उनलाई सम्मान गरिएको हो ।
मनिलास्थित हेरिटेज होटलमा आयोजित कार्यक्रममा ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले लामालाई ‘ग्लोबल क्विन एम्बेस्डर अफ पिस एण्ड युनिटी, २०२५’ र ‘आउटस्ट्यान्डिङ सिइओ इन्टरनेशनल म्युजिक अवार्ड’ गरी दुई वटा सम्मान प्रदान गरेको हो ।
सत्यकला तामाङ लामाले भनिन्, “यस अवार्डले मलाई गीत संगीतको क्षेत्रमा लाग्न प्रेरणा दिएको छ, नेपाली कला र संस्कृति विश्वभर फैलाउने मेरो लक्ष्यमा यस अवार्डले हौसला दिनुका साथै जिम्मेवारी थपिएको महसुस भएको छ ।”
लामो समयदेखि गीत संगीतमा सक्रिय लामा विभिन्न सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् । लामाको कम्पनी एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट कम्पनीले गत वर्षको अक्टोबरमा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा रहेको कालापत्थरमा ५६०० मिटरको उचाइमा पत्रकार सम्मेलन गरी विश्व कीर्तिमान कायम गरेकी थिइन् । उक्त कम्पनीले जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानआकर्षित गर्नका लागि कालापत्थरमा पुगेर आवाज उठाएको थियो ।
साथै लामा नेपालको कला र संस्कृति प्रवद्र्धनमा सक्रिय हुनुहुन्छ । उनले गत वर्ष जापानमा नेपालको कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गर्नुभएको थियो भने गत जेठमा चीनको गुइलिनमा पनि सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेकी थिइन् । उनले गत वर्ष काठमाडौँमा दोस्रो संस्करणको एभरेष्ट टुरिजम अवार्ड आयोजना गरेकी थिइन् । उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधि सहभागी थिए ।


www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७