म्याग्दी – जिल्लाको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।
डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो ।
दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए । चितुवाले पु¥याएको क्षतिको विवरण आज सङ्कलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए ।
हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन शुरु गरेका छन् । समूहले पालेको “राउननेक” जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । छ महिनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३