बुटवल – प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ। यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ। प्यूठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन।
दाङ जिल्लाको पूर्वीभागमा रहेको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ। गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ।
त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ। भालुवाङ बजार नेपाल-भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ।
कोइलावास नाका गढवा गाउँपालका वडा नं. ८ मा पर्छ।
अहिले कोइलावास सडक खण्ड कालोपत्रे भइसकेको छ। पूर्व-पश्चिम राजमार्ग निर्माण भएपछि २०२४/०२५ सालदेखि कोइलावास नाका आझेलमा परेको हो। यही कोइलाबास नाकामार्फत दाङसहित रोल्पा, प्यूठान, अर्घाखाँची, सल्यान, रुकुम, जाजरकोटसम्मका सर्वसाधारणले विगतमा नुनदेखि सुनको व्यापार गर्ने गरेको पुराना पुस्ता बताउँछन्।
दाङको देउखुरी राजधानी भएपछि कोइलाबास नाकाले पुनर्जीवन पाउने आशा गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७