काठमाडौं – १७ वर्षीया किशोरी काठमाडौंको रत्नपार्कमा गाडीको पर्खाइमा थिइन्। मूलपानी जानका लागि बिहान ११ बजेतिर टन्टलापुर घाममा सडक छेउ उभिएकी उनलाई तिर्खा लाग्यो। नजिकै एक युवकको हातमा पानीको बोतल देखिन् र पानी मागिन्।
घटना हो गत आइतबारको।
युवकले पानीको बोतल दिए। किशोरीले पानी पिउने बित्तिकै लठ्ठीइन्, अचेत भइन् । अचेत अवस्थाकी किशोरीलाई युवकले एउटा गाडीमा चढाएर भक्तपुरको सूर्यविनायक लगे, जहाँ एउटा गाडीमा राखेर बलात्कार गरे।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) केशवकुमार थेबेले ती युवक २१ वर्षीय दिपेश राई रहेको बताए।
‘बलात्कार गरेको भनिएको गाडीको नम्बर खुलेको छैन’, डीएसपी थेबेले भने, ‘त्यहाँ दिनरात राखेर बलात्कार गरेको खुल्न आएको छ तर, कुन औषधी पानीमा मिसाएको थियो भन्ने खुलिसकेको छैन।’
उनीहरूबीच त्यसअघि चिनजान नभएको पाइएको छ। दीपेश झापादेखि काठमाडौं घुम्न आएको देखिएको प्रहरीको भनाइ छ। तर, लठ्याउने औषधि पानीमा मिसाएर बोक्नुको रहस्य के हो ? भन्नेबारे गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘अनुसन्धान भइरहेको छ, शुक्रबार त उनलाई महानगरीय प्रहरी परिसर भक्तपुर ल्यायौं, के नामको औषधि र किन बोके उनले? खुल्दै जाला,’ डीएसपी थेबेले भने।
लुटपाट वा चोरी गर्ने उद्देश्य पनि थियो कि भन्ने प्रहरीको अनुमान छ।
यसरी लठ्याउने औषधि मिसाएको पानी पिएर अचेत हुन पुगेकी किशोरी दिपेशबाट बलात्कृत त भइन् नै, फेरि भोलिपल्ट (असोज १७) गते दुई युवकबाट पनि बलात्कृत भएकी थिइन्।
बलात्कृत किशोरीमाथि अझ सामूहिक बलात्कार भयो । बलात्कार गरेको आरोपमा २२ वर्षीय निरकुमार खड्का र २१ वर्षीय सूर्य श्रेष्ठ सोही दिन पक्राउ परेका छन्।
पक्राउ परेकामध्येका खड्का सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० र श्रेष्ठ जुगल गाउँपालिका–४, पाङताङका हुन्।
उनीहरूले चाँगुनारायण नगरपालिका–८, लिवालीस्थित तवियाखुसी खोलाको किनारमा पार्किङ गरिराखेको बसमा बलात्कृत ती किशोरीमाथि सामूहिक बलात्कार गरेको खुलेको हो।
एकपछि अर्को अपराधिक कर्मको शिकार बन्न पुगेकी किशोरी महानगरीय प्रहरी वृत्त जगातीको संरक्षणमा छिन्।
लठ्याउने औषधि भएको पानी पिउन दिएर बलात्कार गरेको आरोप लागेका दिपेश भने फरार थिए।
झापाको चन्द्रगढी नगरपालिका–१, पृथ्वीनगर घर भएका उनी झापाकै भद्रपुर नगरपालिका वडा नम्बर–८ बाट पक्राउ परिसकेका छन्। राई शुक्रबारदेखि महागरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्।
उनीहरू तीन जनाविरुद्ध प्रहरीले जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३