ओलीको कार्यशैलीः गुटको रक्षा गर्दै आफ्नालाई अवसर नै अवसर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको मुखमा मन्त्रिमण्डलमा नयाँ मन्त्री बनाए । मन्त्री बनेकाहरुमा विष्णु पौडेल र कृष्णगोपाल श्रेष्ठ लामो समययता उनको गुटमा रहँदै आएकाहरु हुन् । श्रेष्ठले त जस्तोसुकै आरोह अवरोहमा ओलीको साथ छाडेनन् ।

विष्णु पौडेलले ओलीको सत्ता संकट टार्न महत्वपूर्ण भुमिका खेले । उनले छिमेकी वामदेव गौतमलाई मनाएर ओलीविरुद्धको घेराबन्दी तोड्न योगदान गरे । त्यसको पुरस्कारस्वरुप पौडेल अर्थमन्त्री भएका छन् ।

पार्वत गुरुङले सञ्चार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी पाएका छन् । उनी पनि ओलीका विश्वासपात्र हुन् ।

प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री कायमै छन् । प्रचण्डलाई दोस्रो संविधानसभा चुनावमा कडा चुनौती दिएका लीलानाथ श्रेष्ठलाई पनि ओलीले मन्त्री बनाएका छन् । ओलीले यसरी गुटका मान्छेलाई निकै अवसर दिने गर्छन् । आफूलाई अप्ठ्यारोमा साथ दिनेहरुलाई उनले बेवास्ता गर्दैनन् ।

नेकपाका एक नेताका अनुसार ओली गुटको रक्षा गर्न जान्दछन् । कुनैपनि अवसर आउँदा आफ्ना मान्छेलाई अवसर दिलाएरै छाड्ने उनको स्वभाव छ ।

नेकपाबाट मुख्यमन्त्री भएका छ जनामध्ये चारजना ओलीका खास मान्छे हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओलीलाई कठिन घडीमा पनि साथ दिदै आएका नेता हुन् । पोखरेललाई ओलीको उत्तराधिकारीका रुपमा समेत हेरिएको छ ।

शेरधन राई र पृथ्वी सुब्बा गुरुङ पनि लामो समययता ओलीकै गुटमा छन् । दुवैजना विवादमा आउँदा पनि ओलीले तिनको रक्षा गरे । डोरमणि पौडेलले ओलीको विश्वास जितेकैले अष्टलक्ष्मी शाक्य र केशव स्थापित जस्ता हस्तीहरुलाई उछिनेर मुख्यमन्त्री पद प्राप्त गरे ।

ओलीले राजनीतिक नियुक्तिहरुमा पनि आफ्ना मान्छेलाई विशेष अवसर दिएका छन् । राजदूत नियुक्तिमा पनि उनलाई विगत देखिनै सघाएकाहरु परेका छन् ।

यसरी ओली गुटको रक्षा गर्दै अप्ठ्यारो अवस्थामा सघाएकाहरुलाई विशेष अवसर दिन पछि पर्दैनन् । त्यसैले उनी बलियो पकड बनाउँदै राजनीतिमा हावी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार