काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिएका हुन् ।
काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिए । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए । उनले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७