काठमाडौं – कोरोना भाइरसको महामारीबीच पनि दशैंका लागि घर फर्किनेहरुको संख्या घटेको छैन। विशेष गरेर काठमाडौं उपत्यकाबाट थुप्रै मानिस दशैंका लागि बाहिरिएका छन्।
आज दशैंको छैटौं दिन। बिहानैदेखि राजधानी छोड्नेको नाकाहरुमा घुइचो लागेको छ। विगतको तुलनामा केही कमि आएको भएपनि उपत्यकाबाट बाहिरिने क्रम नरोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार साँझसम्म काठमाडौंका विभिन्न नाका भएर एक लाख १६ हजार एक सय ४५ यात्रु बाहिरिएका छन्। उपत्यका भित्रिने यात्रुको संख्या भने कम रहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले बताए।
मशाखाका अनुसार कात्तिक १ गते अर्थात घटनास्थापनको दिनमा २१ हजार चार सय यात्रु उपत्यकाबाट बाहिरिएका थिए भने १६ हजार भित्रिएका थिए। त्यस्तै, कात्तिक २ गते २३ हजार तीन सय ९२ जना बाहिरिएका थिए भने १६ हजार दुई सय ७७ यात्रु भित्रिएका थिए।
दशैंको तेस्रो दिन कात्तिक ३ गते २३ हजार आठ सय ३६ यात्रु बाहिरिँदा १६ हजार तीन सय चार यात्रु मात्रै भित्रिएका थिए।
यसैगरि कात्तिक कात्तिक ४ गते २२ हजार दुई सय ९९ यात्रु उपत्यकाबाट बाहिरिए भने १४ हजार यात्रु भित्रिएका थिए।
दशैंको पाँच दिन कात्तिक ५ गते २५ हजार दुई सय १८ यात्रुले उपत्यका छोडेका छन् भने १६ हजार तीन सय ५७ यात्रु उपत्यका प्रवेश गरेको महाशाखाले जनाएको छ।
अहिले दैनिक पाँच हजार सार्वजनिक यातायातका साधन बाहिरिरहेको र चार हजारका उपत्यका प्रवेश गरिरहेको एसपी यादवले बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७