नेपाल संवत्को १२ वर्ष : ‘राष्ट्रिय’ भन्ने तर कार्यान्वयनको कार्यविधि नबन्ने

काठमाडौं – नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको १२ वर्ष बितिसकेको छ । तैपनि यस संवत्को प्रयोगका विषयमा ठोस कार्यविधि बन्न सकेको छैन । राष्ट्रिय संवत्को मान्यता केवल औपचारिकतामा मात्र सीमित भएको छ । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । तर, राष्ट्रिय संवत्को मान्यताअनुरुप सरकारले नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको पाइएन । राष्ट्रिय मान्यताअनुरुप त्यसको प्रयोगका स्वरुपबारे राज्यले आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट पारेको देखिँदैन ।

२०५७ साल मंसिर २ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वालको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेको थियो । त्यसयता शंखधरको महत्व र व्यक्तित्वको सम्मानबारे न राज्यले अग्रसरता देखायो, न कहिले चासो नै लियो । ‘राष्ट्रिय मान्यता त पायो, तर यसको महत्व र प्रयोगबारे राज्यले स्पष्ट दृष्टिकोण बनाएको छैन’, इतिहासविद् प्रा। दिनेशराज पन्तले भन्नुभयो– ‘सरकारी रवैया हेर्दा जनस्तरको दबाब र सरोकारवाला समूहलाई खुसी पार्न मात्र सरकारले नेपाल संवत् राष्ट्रिय संवत् घोषणा गरेको जस्तो देखियो । बितेका १२/१३ वर्षमा यस दिशामा केही काम भएन ।’

यस वर्ष कोरोना संक्रमणका कारण राजधानीको वसन्तपुरमा नेपाल संवत्–११४१ को नयाँ वर्ष कार्यक्रम नहुने भनिएको छ । वसन्तपुरमा हरेक वर्ष हुँदै आएको नेपाल संवत्को औपचारिक कार्यक्रम भिन्तुना ¥यालीमा सहभागी हुने क्रममा सरकार प्रमुखहरुले विभिन्न आश्वास दिने गरेका छन् । समय बित्न नपाउँदै यसरी दिएका आश्वासनहरु खोक्रो साबित हुँदै गएका छन् ।

२०६२/६३को जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भिन्तुना ¥यालीको कार्यक्रममा नेपालको गौरव र मौलिक संवत् नेपाल संवत्को तिथि मिति आजको दिनदेखि मैले अरुमा नभए पनि मेरो लेटरप्याडमा प्रयोग गर्नेछु भनेर घोषणा गर्नुभएको थियो । राष्ट्रप्रमुखको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री कोइरालाले बोल्नुभएको सो कुरा कार्यान्वयन कहिले भएन ।

पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय संवत्को घोषणा गरेलगतै यसको व्यावहारिक प्रयोगका बारेमा स्पष्ट ठोस दृष्टिकोण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर प्रतिबद्धताअनुरुप व्यवहारमा काम अघि बढेन ।

त्यसै गरी माधवकुमार नेपालले प्रधानमन्त्री हुनुभएपछि वसन्तपुरको भिंतुना ¥यालीमा जनसमक्ष उभिएर नेपाल संवत्बारे अध्ययन÷अनुसन्धानका लागि आयोग बनाउने र आयोगको सुझाव अविलम्ब कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आयोग त बन्यो तर सुझाव कार्यान्वयनमा सिन्कोसमेत भाँचिएन ।

त्यसै गरी २०६८ सालको नेपाल संवत् भिंतुना ¥यालीको आमसभास्थल खुल्लामञ्चमा प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाल भाषामा सम्बोधन गर्दै नेपाल संवत्सम्बन्धी अध्ययन÷अनुसन्धानका लागि राज्यस्तरबाट एउटा प्रतिष्ठान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक रकम सरकारले उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोअनुरुप नेपाल संवत् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको संयोजकत्वमा एक कार्यदल बनेको थियो । सो कार्यदललाई नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउने र नेपाल संवत् र अन्य प्रचलित संवत्हरुको अध्ययन गर्ने मुख्य जिम्मेवारी दिइएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार