काठमाडौँ – राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपालको मानव अधिकार अभियान, प्रजातान्त्रिक आन्दाेलका नेता, भाषा र जातीय समानताको आन्दोलनमा उल्लेख्य योगदान गरेका पद्मरत्न तुलाधरको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको ‘शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।
जहाँनिया राणा शासनविरुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूर्णकदको शालिक निर्माण गरिसकेको महानगरपालिकाले साख्वाः र तुलाधरको पनि शालिक निर्माण गरेको हो । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आथित्यमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यद्वारा ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरिएको छ । शालिकमा मन्त्री श्रेष्ठलगायतले माल्यार्पण गरे ।
करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेको शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरपालिकाका प्रमुख शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरे । ‘साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ उहाँहरु दुबै ईतिहास पुरुष भएको पनि स्मरण गराए । उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घाेषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठुलाे कुरा भएको बताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको जानकारी दिए । ‘उहाँहरुकाे याेगदानलाई कतिपय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनाैँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्, उनले भने, ‘हामीले उहाँहरुकाे सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छाैँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छाैँ ।’
वागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाललले पनि सम्वाेधन गरेका थिए । सहरी विकास राज्यमन्त्री रामविर मानन्धरको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा पद्मरत्नकी छाेरी सुम्निमा तुलाधरले पिताजीकाे सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३