प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को परिस्थितिबाट देशलाई कसरी उम्काउने भन्नेमा साझा प्रयास जरूरी रहेको बताएका छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले अर्थतन्त्रमा परेको प्रभावबाट मुक्ति दिलाउन सरकार लागेको बताए।
‘महामारीको कारणले अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र कोभिडअघि हामी जुन गतिमा काम गरिरहेका थियौं, त्यही गतिमा कसरी ल्याउने भन्ने लागेको छ,’ उनले भने, ‘अबको अर्थतन्त्रको सम्बन्धमा साधारण सभाले छलफल र निष्कर्ष निकाल्ने छ। आफ्नो व्यावसायिक क्षेत्र, नेपाल सरकारको लागि पनि लाभान्वित हुने निष्कर्ष निकाल्ने छ।’
ओलीले संयुक्त प्रयासबाटै कोभिडको समस्या समाधान गर्नुपर्ने बताए।
उनले सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र, प्रदेश, स्थानीय सरकार सबै पक्ष मिलेर संयुक्त प्रयासले कोभिडसँग जुध्न आवश्यक रहेको बताए।
उनले सरकारको आर्थिक समस्याबारे पनि बुझ्नुपर्ने भन्दै गक्षअनुसार एक कदमअगाडि सहयोगको हात बढाएर व्यावसायिक उत्थानमा काम गर्ने बताए।
उनले साझा प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउन सरकारलाई सहयोग गर्न पनि अनुरोध गरे।
‘हाम्रा प्रयास यस विषयमा केन्द्रित छन् भन्न चाहन्छु। मानव जातिले समय समयमा ठूला-ठूला महामारी र विपत्तिलाई भोगेको छ। त्यसलाई सामना गर्दै, पराजित गर्दै अघि बढ्नु परेको छ।’
कोभिड-१९ विरूद्ध विभिन्न भ्याक्सिन पत्ता लगाएको भन्दै ओलीले त्यसलाई व्यापारको रूपमा नभएर साझा सम्पत्तिको रूपमा प्रयोग हुनुपर्ने बताए।
‘गरिब देशहरूले त्यो भ्याक्सिन साझा सम्पत्तिको रूपमा प्राप्त गर्ने हो कि हैन, व्यापार मात्र हुने हो कि हैन भन्ने प्रश्न आएका छन्,’ उनले भने, ‘भ्याक्सिन पत्ता लाग्नु मानव जातिका निम्ति ठूलो उपलब्धी हो। मानव जातिले साझा रूपमा प्रयोग गर्न सक्नुपर्छ।’
ओलीले राष्ट्रका निम्ति कर तिरिरहेका व्यक्ति राज्यको नजरमा समान रहेकाले सबैलाई कानुनसम्मत र यथोचित ढंगले संरक्षण र सुरक्षा दिने बताए।
यसका लागि व्यावसायिक कारोबारमा सरकारले शुद्धता चाहेको बताए।
‘स्वच्छताका साथ अगाडि बढ्न सरकार प्रेरित गर्छ। हामी राष्ट्रिय पुँजीलाई जोड दिन्छौं। राष्ट्रिय पुँजीपतिलाई जोड दिन्छौं। सकेसम्म बाह्य पुँजी ल्याउनै नपरोस्,’ उनले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३