काठमाडौं – काठमाडौंबाट शुक्रबार जनकपुर जाने यात्रु चढेको बुद्ध एयरको एटीआर-७२ जहाज पोखरा पुग्यो। अवतरण गरेपछि मात्रै त्रुटि थाहा भयो।
चालक दलले जहाजमा तत्काल इन्धन भरेर यात्रुलाई हतार हतार जनकपुर पुर्याएर छाड्यो। उक्त उडानमा भएको गम्भीर त्रुटिले बुद्ध एयरका कर्मचारीहरूमाथि प्रश्न उठेको छ। के कारणले यस्तो भएको हो भन्ने छानबिन गर्न बुद्ध एयर व्यवस्थापनले टोली गठन गरेको छ।
ग्राउण्ड सपोर्टमा परिचालित कर्मचारीमा भएको ‘मिस कम्युनिकेसन’ का कारण शुक्रबार कम्पनीको यात्रु सेवातर्फ आन्तरिक व्यवस्थापनमै आँच आएको भन्दै बुद्ध आफैं छानबिनमा जुटेको स्रोतले जनाएको छ।
शुक्रबार दिउँसो २ बजे जनकपुर जाने यात्रुलाई पोखरा जाने जहाजमा चढाउँदा यस्तो घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कर्मचारी स्रोतले बताएको छ। विमानस्थलमा चेक-इनबाट जहाजसम्म यात्रुलाई बसमा लगिन्छ। गन्तव्य अनुसारका जहाजमा पुर्याउँदा यात्रुको बोर्डिङमै जहाजको नम्बर उल्लेख हुन्छ।
‘काठमाडौं-जनकपुरका लागि ५०५ मा चढाउनुपर्नेमा त्यहीबेला पोखरा जाने ६०७ मा चढाउँदा यस्तो गल्ती भएको हो,’ स्रोतले भन्यो, ‘यो ग्राउन्डको टिमवर्ककै गल्ती भन्ने देखिन्छ।’
बुद्धका एक कर्मचारीले भने नाइट फ्लाइट नहुने गन्तव्यका लागि हतारमा व्यवस्थापन गर्दा गल्ती भएको बताएका छन्। ‘हामीले रात्रिकालीन उडान नहुने गन्तब्यलाई पहिलो प्राथमिकतामा राखेर सुरुमा पोखरा उडान गर्ने योजना बनाएका थियौं। चालकदल यो विषयमा जानकार थिए। तर मिस कम्युनिकेसनका कारण यात्रुलाई पोखराको फ्लाइटमा चढाएको भन्ने बुझियो,‘ उनले भने, ’घटनाको वास्तविकता बुझ्न इनहाउस कमिटी गठन भइसक्यो, हामीले बुझेभन्दा फरक केही रहेछ भने पनि पत्ता लाग्छ।’
कम्पनीले फ्लाइट प्लान चेन्ज गर्ने क्रममा यो घटना भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए। ‘कन्ट्रोल टावरले उडान फ्लाइट अप्रुभल दिने हो। उडान अवस्थालाई मध्यनजर गर्दै कम्पनीले आफ्नै हिसाबले फ्लाइट प्लान चेन्ज गर्न सक्छन्। शुक्रबार कम्पनीकै ग्राउण्ड अपरेसनको मिसकम्युनिकेसनका कारण जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेको प्रारम्भिक जानकारी आएको छ,’ उनले भने, ‘छानविनका लागि कम्पनी आफैंले अनुसन्धान समिति बनाएको छ। मुख्य कारण थाहा हुनेछ।’
ग्राउण्ड अपरेशनको सञ्चारमा गडबडी भए पनि जहाज टेकअफ हुनुअघि एयरहोस्टेज र पाइलटको ‘अनाउन्समेन्ट’ भने थप कैफियत रहेको एक पूर्व पाइलटले बताएका छन्। ‘पहिला पहिला पनि यस्ता घटना भएका छन्। एक ठाउँ जानुपर्ने दुई तीन जना यात्रु झुक्किएर अर्को ठाउँ पुग्नु स्वभाविक हो। तर यहाँ त ६४ जना यात्रु नै अर्को गन्तब्यमा पुगेका छन्,’ उनले भने, ‘उडान हुन अगाडि पाइलट र एयरहोस्टेजलाई आफू जाने गन्तब्यबारे थाहा हुन्छ। उडान हुनु अगाडी एयर होस्टेजले अनाउन्समेन्ट गरेका हुन्छन्।’
यो एउटाको मात्रै गल्ती नभएर सुरुमा एउटाले गरेको गल्तीमा कसैले पनि क्रस-चेक नगर्दा भएको हुनुपर्ने उनले बताए। कम्पनीले तयार पारेको रिपोर्टका आधारमा आवश्यक देखिएमा नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले कारवाही अगाडी बढाउन तयार रहेको जनाएको छ।
‘हामीले हेर्ने भनेको उडान सुरक्षा हो। कम्पनीको आन्तरिक समस्या देखिएको छ। तर कतिपय कुराले उडान सुरक्षामा पनि प्रभाव पर्न सक्छ। उहाँहरुको अध्ययनका आधारमा थप अनुसन्धानका लागि हामी तयार छौं।’ हवाई सुरक्षा विभागका एक कर्मचारीले भने।
बुद्ध एयरले शुक्रबारमात्रै मुलुकका बिभिन्न गन्तव्यमा ४७ वटा उडान गरेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७