काठमाडौँ – वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.१२५९/०७३/०७४ एस.आर.ग्रुप नेपालले भिजिट भिसामा सयौंको संख्यामा नेपाली कामदारहरु वैदेशिक रोजगारमा पठाएको प्रमाण भेटिएको छ । म्यानपावरका सञ्चालक राधामोहन जैसवालले गत हप्तामात्रै दर्जनबढी कामदारलाई जनही एकलाख पचास हजारदेखि तीन लाखसम्म रकम लिएर भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाएको खुल्न आएको छ ।
उक्त म्यानपावरका सञ्चालक जैसवालले नक्कली टिकट र कागजात बनाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुसँग रकम उठाईरहेको खुल्न आएको छ । भुलन मुखिया पासपोर्ट नं.११८०६०९४ राम बाबु प्रसाद रौनियार पासपोर्ट नं.१०४६८०३८ लगायत दर्जनौ बेरोजगार युवाहरुसँग एकलाख पचास हजारका दरले रकम उठाएर जैसवालले अकुत सम्पत्ती असुलेका छन् ।
यी युवाहरु वैदेशिक रोजगारीमा जानको लागि तीन महिनादेखि काठमाडौंका म्यानपावर बजारस्थित होटलमा बसेका छन्। गाउँमा जमिन साहुको नाममा दिएर सयकडा पाँचका दरले ऋण लिएर वैदेशिक रोजगारीमा जान आएका थिए । म्यानपावर र एजेन्ट गोरख राउत कुर्मीले लामो समयसम्म वैदेशिक रोजगारीमा नपठाएपछि उनीहरुले पैसा फिर्ता मागेका थिए । अन्तिम समयमा आएर सञ्चालक जैसवाल र एजेन्ट गोरख राउत कुर्मीले उनीहरुलाई भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको श्रोतले उल्लेख गरेको छ ।
जैसवालको एकल स्वामीतव रहेको (एस.आर ग्रुप नेपाल) र संचालक जैसवालले नक्कली कागजात बनाएर रकम असुलेका सक्कल प्रमाण र पिडितसँगको कल रेकर्ड सुरक्षित रहेका छन् । राधामोहन जैसवालका एजेन्ट गोरख पटेल भनेर चिनिने गोरख राउत कुर्मी लगायत दर्जनौको संख्यामा रहेका जैसवालका एजेन्टहरुले तराईका सोझा र गरिब युवाहरुलाई ठगेको प्रमाण सुरक्षित रहेको छ । उनीहरुले नककली भिसा र प्लेन टिकट देखाएर रकम असुलीरहेको श्रोतको दावी छ ।
जैसवालको एस.आर.ग्रुप नेपालबाट कतिको संख्यामा नेपाली कामदार भिजिट भिजामा वैदेशिक रोजगारीमा गए भन्ने अनुसन्धान भइरहेको छ । विश्व भरी फैलिएको कोभिडका कारण गत वर्ष चैत्र ११ देखि सरकराले मुलुकभर बन्दाबन्दी गरेको थियो । लकडाउन र अन्तराष्ट्रिय उडान खुकुलो भएपछि म्यानपावर कम्पनी,एजेन्ट र मानव तस्करहरुले रोजगारीमा जाने नागरिकसँग ठूलो मात्रामा रकम असुली गर्दै भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउँदै आएका छन ।
वैदेशिक रोजगार विभागले गत हप्ता एकै दिन चार म्यानपावर र केही ट्राभल्स एजेन्सीमा छापा मारेपछि भिजिट भिसामा सेटिङ गरेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि कर्मचारीको सरुवासँगै म्यानपावर,एजेन्ट र ट्राभल्सहरुले सेटिङको अर्को बाटो खोजिरहेको सुचना प्राप्त भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७