काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजनको घोषणा हुन मात्र बाँकी छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि गुटहरुको छुट्टै भेला र फरक धारणाहरु सार्वजनिक हुन थालेका छन् ।
ओलीको कदमको केहीले विरोध गरेका छन् भने केहीले विरोध गरेजस्तो मात्र गरेका छन् । ओली गुटका प्रभावशाली नेताहरुले प्रतिनिधिसभा बिघटनको कदमलाई परिस्थितिजन्य भनेका छन् ।
बालुवाटारमा ओलीले आफ्नो पक्षका बिघटित प्रतिनिधिसभाका सांसदहरुको छुट्टै भेला राखेका छन् । भेलामा सचिवालयका इश्वर पोखरेल र विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी नेता समेत रहेका आपूर्तिमन्त्री लेखराज भट्ट सहभागी भए । ओलीको भेलामा ७० जना जति निवर्तमान सांसद सहभागी भए ।
ओली निकट बनेका गृहमन्त्री रामबहादुर थापा बादलको अलग्गै गुट छ । उनी खुलेर कसैको पक्षमा लागेका छैनन् । तर, मन्त्रीबाट राजीनामा नदिएकाले ओली गुटमै रहेको बुझाई धेरैको छ । तर, बादलले आज पुल्चोकस्थित मन्त्री क्वार्टरमा छुट्टै भेला राखे । भेलामा उनले आफू निकटस्थ केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।
नेकपाको अर्को बलियो गुट कार्यकारी अध्यक्ष प्रचण्डको हो । उनको गुटमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाश छन् । स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुङ, पम्फा भुषाललगायत यो गुटमा खुलेर सक्रिय छन् ।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको पनि आफ्नै गुट छ । यो गुटमा स्थायी कमिटी सदस्यहरु भीम रावल, गोकर्ण बिष्ट, योगेश भट्टराई, वेदुराम भुषाल, रघुजी पन्त समेत छन् । नेपाल ओलीविरुद्ध कडा रुपमा उभिदै आएका छन् ।
नेकपा उपाध्यक्ष वामदेवको पनि आफ्नै गुट छ । उनी पार्टी विवादमा कुनै पनि समूहको भेलामा सहभागी भएका छैनन् । बरु उनले आफूलाई समन्वयकारीको भूमिकामा राखेका छन् । वामदेवको गुट पछिल्लो समय कमजोर छ । उनीसँग घनश्याम भुषाल नजिक मानिन्छन् ।
नेकपाभित्र झलनाथ खनाल पनि शक्तिशाली छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले आफ्नो अलग गुट कहिले बनाएनन् । उनी अहिले प्रचण्ड र माधव नेपालसहितको समूहमा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७