काठमाडौं – दक्षिण कोरिया जानको लागि पास गर्नुपर्ने ईपीएस भाषा परीक्षा कडा मध्यको एक मानिन्छ । तर, सो जाँचमा ५ वर्षदेखि नक्कली परीक्षार्थीको घुसपैठ हुने गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ ।
महानगरीय अपराध महाशाखाले लामो अनुसन्धानपछि कोरियन भाषा शिक्षक उत्तम मान लिम्बुलाई पक्राउ गरेपछि सो तथ्य खुलेको हो । सुनसरीको धरान उपमहागर–१९ घर भएका लिम्बु बागबजार स्थित ‘सेन्सेगेट कन्सल्टेन्सी’का कोरियन भाषा प्रशिक्षक हुन् ।
विद्यार्थीसँग पैसा लिएर आफैंले जाँच दिने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले बताए ।
विद्यार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर परिक्षा दिने लिम्बुले प्रतिविद्यार्थी ७ लाख असुल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । अर्का एक कोरियन भाषा शिक्षकसँग मिलेर उनीहरुले अहिलेसम्म ५० जनाभन्दा बढीको जाँच दिइसकेका छन् । महाशाखाको टोलीले मंगलबार उनलाई कालोपुलबाट पक्राउ गरेको हो ।
‘०१५ देखि उनले सो धन्दा गरिरहेको थाहा भएको छ,’ एसपी कार्की भन्छन्, ‘थप अनुसन्धान गर्दै छौं ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७