काठमाडौं – शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड समय गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् ।
राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएका गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए। मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला-ठूला महल होइन’ लगायतका गीत गाएका थिए ।
यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ । बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको प्रयास विश्वकै पहिलो भएको जानकारी दिएको छ । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए। कार्यक्रममा प्रधानमन्त्रीकि पत्नी एवं प्रथम महिला राधीका शाक्यले राजनीति र गायन सँगै अघि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७