काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको झगडा संसद्मा लैजान खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको ‘अप्रिय कदम चालेको’ बताएका छन् ।
सरकारका काम कारबाहीको फैसला जनताले गर्न पाउनुपर्ने बताउँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतमा पुगेको प्रतिनिधिसभा विघटनको मुद्दाबारेको फैसला जनताले गर्नुपर्ने धारणा राखे ।
प्रधानमन्त्रीलाई काम गर्न पार्टीभित्रैबाट नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने अवस्था आएको मन्त्री ज्ञवालीले बताएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री निकट विद्यार्थीहरूको भेलामा आइतबार मन्त्री ज्ञवालीले पार्टीभित्रको झगडा संसद्मा लैजान खोजेपछि प्रधानमन्त्रीले अप्रिय कदम चाल्नुपरेको बताए ।
‘पार्टीभित्रको झगडा ठिकै थियो तर त्यो संसद्मा जानु पर्थेन । पार्टीभित्रको विवादलाई लगेर संसदमा पोख्ने काम गरियो । प्रधानमन्त्रीकहाँ निवेदन दिन्छौं, बाटो र बिजुली माग्नका लागि हस्ताक्षर गर्नुस् भनेर सांसदहरूको हस्ताक्षरलाई दुरुपयोग गरियो,’ ज्ञवालीले भने ।
पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी आन्दोलनलाई गलत बाटोमा लैजाने र मुलुकलाई पनि धरापमा पार्न खोजेपछि प्रधानमन्त्री ओलीले ‘आन्दोलनलाई गलत बाटोमा जान दिनुहुन्न भन्दै तुलनात्मक अप्रिय निर्णय गरेको’ ज्ञवालीले बताए ।
दाहालले मुलुकभित्रको राजनीतिक गतिविधिमा बाह्य मुलुकहरूको हस्तक्षेपका लागि आग्रह गरेको मन्त्री ज्ञवालीको भनाइ थियो ।
‘फलानो देश किन बोल्दैन, समर्थन चाहियो उहाँले भन्नुभयो । देशभित्रको घरझगडामा बाह्य हस्तक्षेप निम्त्याउने प्रयत्न हुँदैछ,’ ज्ञवालीले भने ।
पार्टीमा नेताहरूले प्रधानमन्त्रीलाई काम गर्न नदिएको तथा मुलुकमा भएका राम्रा कामको प्रसंशा नगरेकाले पनि संसद विघटन गर्नुपरेको ज्ञवालीको भनाइ थियो ।
प्रधानमन्त्रीले चालेको कदम जनादेशअनुसार सही भएको उनको भनाइ थियो । उनले जनताले आफूलाई बुझाएको नासो जनतालाई नै फिर्ता गर्नका लागि कदम चालिएको उनको भनाइ थियो । उनले भने, ‘प्रधानमन्त्रीले यो जनादेश जनताबाट पाएको हो । उहाँले यो नासो बुझाउने पनि जनतासमक्ष नै हो । त्यै भएर मैले नराम्रो गरेको भए जनताले मलाई दण्डित गर्नेछन् भनेर अहिलेको कदम चाल्नुभएको हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७