काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्न समय खर्चिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले आफूले सिंह भनाइदिएको मान्छेले पछि आफैलाई खान खोजेको भन्दै टिप्पणी गरे ।
उनले भने, ‘निर्वाचनबाट बहुमत लिएर आएको प्रधानमन्त्रीलाई प्रधानमन्त्री हट्नुपर्छ कि हट्नुपर्छ भनियो । मैले नै दिएका अवसरहरुको दुरुपयोग गरियो । आफूले सिंह बनाइदिइयो आफैलाई झम्टिने अवस्था आयो ।’
संविधानले ५ वर्षमा निर्वाचन गर्ने कुरालाई मात्र स्थिरता नभनेको बताउँदै सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने संविधानले व्यवस्था गरेको उनले जिकिर गरे ।
संविधानको धारा ७६ को ७ ले सो व्यवस्था गरेको उनको दावी छ । बहुमत कसैको आएन भने, दुई वा दुई दलभन्दा बढीको मिलेर सरकार बनाउन सकेनन् भने र बहुमतको सरकारले पनि राष्ट्रपतिबाट सिफारिस लिएर आएको १ महिनाभित्र विश्वासको मत प्राप्त गर्न सकेन भने, अल्पमतको मात्र हैन एउटा व्यक्ति प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उसको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न सक्ने र नयाँ संसद्का लागि चुनाव हुने ओलीले दावी गरे ।
उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिलाई अस्थिरता तर्फ धकेल्न थालिन्छ भने निरिहताको अवस्था आउने दावी गरे । यद्यपी उनले अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन नसकेकाले अस्थिरताको स्थिति नभएको तर्क गरे ।
उनले कतिपयले अध्यक्ष पद अर्कोलाई सरक्क छोडिदिएको भए यो अवस्था आउँदैन थियो भन्ने गरेको भन्दै ‘अध्यक्ष पद किन छोड्ने यो दान हो र ?’ भन्दै प्रश्न गरे । उनले भने–‘यो दान हो र कमन्डलु थाप्ने वित्तिकै लाउ भनेर दिने ? यो मोहोर सिक्का हो ? प्रधानमन्त्रीको जिम्मेवारी भनेको के हो ? यो जनताले सुम्पिएको अभिभारा हो जस्तोसुकैलाई जुनसुकै बिधिबाट सुम्पन सकिँदैन । कहिले अध्यक्ष छोड भनेको छ कहिले प्रधानमन्त्री छोड भनेको छ, प्रायोजित सञ्चार माध्यम प्रयोग गरेको छ । केही त्यस्तै खालका बुद्धिजीवीको झुण्डलाई प्रयोग गरेको छ ।’
देशमा अस्थीरता फैलाउने साझा प्रयासलाई प्रतिनिधि सभा विघटन गरेर रोकिएको उनको दावी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७