काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार उनकै निवास बोहोराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह गरेका छन् ।
पौडेलसँग करिब एक घण्टा कुराकानी गरेपछि देउवाले केन्द्रीय कार्यसमितिको बैठकसमेत १३ गतेलाई सारेका छन् । यसअघि पुस २७ गते बस्ने बैठक माघ ६ गते बोलाइएको थियो । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ भइरहेका बेला प्रश्न उठ्न सक्ने भन्दै पार्टीको बैठक सारिएको एक केन्द्रीय सदस्यले बताए ।
पछिल्ला दिनमा पार्टी नेतृत्वको भूमिकाको समेत चर्को आलोचना गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्दै आएका पौडेललाई देउवाले ‘न्युट्रल’ राख्ने प्रयास गरेको स्रोतले बतायो । यसअघि महामन्त्री शशांक कोइरालालाई दुईपटक निवासमै बोलाएर निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।
‘प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेका नेताहरू सबैलाई एकपटक बोलाएर कुराकानी गर्नेबारे छलफल भएको थियो,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यसअन्तर्गत भेट भएको हो ।’ देउवाले पौडेलसँग प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर निर्वाचनको विरोध गर्न नहुने बताएका थिए ।
माघ ३ गतेको पार्टीको विरोध प्रदर्शनका क्रममा चितवन पुगेर पौडेलले नेतृत्वलाई चुनाव–चुनाव नभन्न आग्रह गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए । देउवासँगको भेटमा पनि पौडेलले प्रतिनिधिसभा पुनःस्थापनाकै लाइन पार्टीले लिनुपर्ने बताएका थिए । ‘अहिलेको राजनीतिक विषय, पार्टी महाधिवेशन, प्रदेश सरकारलगायत विषयमा छलफल भयो,’ पौडेलले भने, ‘सभापतिजीले कुरा राख्नुभयो । मैले संविधानविपरीतको कदम सच्याउने लाइन कांग्रेसले लिनुपर्ने बताएँ ।’
सहमहामन्त्री प्रकाशशरण महतले महाधिवेशन र अहिलेको राजनीतिक घटनाक्रमको विषयमा पार्टीभित्र अन्योल नहोस् भनेरै सभापतिले वरिष्ठ नेतासँग छलफल गरेको बताए । ‘पार्टीभित्र सद्भाव बढाउन पनि पौडेल दाइलाई भेट्नुस् भनेर सुझाव दियौं, उहाँले पौडेल साथी नै हो, किन नजाने भन्नुभयो,’ उनले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि/नभए पनि असंवैधानिक कदम भनेर पार्टीले विरोध प्रदर्शन गरिरहेकै छ । अदालतको निर्णयलाई सभापति र वरिष्ठ नेताले नमान्ने भन्नुभएको छैन । नेकपाकै प्रचण्ड र माधव नेपालले पनि नमान्नुहोला भन्ने लाग्दैन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३