काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रममा जेलको प्रसंग पनि उठ्न थालेको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जेल हाल्न खोजेको आरोप लगाइसकेका छन् । उनले आज शक्ति प्रदर्शनका क्रममा पनि जेलकै प्रसंग उठाए ।
नेपालले यसपटक ओलीलाई जेल हाल्ने चेतावनी दिए । उनले सभालाई सम्बोधन गर्ने क्रममा ओली सच्चिएनन् भने जेल हाल्ने चेतावनी दिएका हुन् । ललिता निवास प्रकरणमा माधव नेपाललाई मुछेर जेल हाल्न खोजिएको विषय विगतमा पनि उठेको थियो । ओली निकट नेकपा नेता कर्ण थापाले माधव नेपाल जेल जाने अभिव्यक्ति दिएका छन् ।
आजकै सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले आफूलाई ओलीले जेल हाल्न खोजेको संकेत गरेका छन् । उनले भने,‘ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको छ ।’ आफूलाई अपराधी बनाएर जेल हाल्न खोजेको प्रचण्डको संकेतका रुपमा यसलाई विश्लेषण गरिएको छ ।
हिजो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानवअधिकारको गम्भीर उल्लंघन भएको जनयुद्धकालिन घटनामा आममाफी दिन नसकिने अभिव्यक्ति दिएका छन् । जनयुद्धकालीन घटनामा प्रचण्डविरुद्ध समेत कारबाही बढाउन सक्ने संकेतका रुपमा यसलाई बुझिएको छ ।
नेकपा विभाजनपछि नेताहरुले एकले अर्कालाई जेल हाल्ने सम्मको विषय उठाउनुलाई गम्भीरताका साथ लिइएको छ । विभिन्न आरोपहरु लगाएर एक अर्कालाई जेल सम्म पुर्याउने प्रयास भएमा आश्चर्य नमाने हुने देखिदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३