काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो ।
आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ । यसरी रिपोर्टर्स नेपालले पौष २५ गते यसबारे खुलासा गरेको थियो । सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपाले पाउने शिर्षकमा समाचारमार्फत् यस्तो खुलासा गरेको थियो ।
निर्वाचन आयोगमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता छ । यसैलाई आधिकारिक मान्ने निर्णय गरेर आयोगले फुटलाई मान्यता नदिने तयारी गरेको हो । वामदेव गौतमसँग केही समय अघि टेलिफोन सम्पर्कबाट प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तै संकेत गरेको खुलेको थियो ।
अहिले ओली र प्रचण्ड–माधव नेपाल खेमाले वैधानिक नेकपा आफूहरुको भन्दै सुर्य चिन्ह पनि आफूहरुकै हुनुपर्ने दाबी गर्दै आएको छ । निर्वाचन आयोगमा दाबेदारीको निवेदन दर्ता देखि विभिन्न समयमा प्रश्नको जवाफ समेत सुरक्षित रहेको छ ।
प्रचण्ड–माधव पक्षधरले नेकपाको पुरानै कमिटीलाई आधिकारिक मान्नुपर्ने दाबी गरेको छ । तर, ओली समूहले केन्द्रीय कमिटी विस्तार गरिएको पत्र निर्वाचन आयोगमा बुझाएको छ । प्रचण्ड समूहले ओलीमाथि कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । यी सबैलाई आयोगले मान्यता नदिने बुझिएको छ ।
ओलीले पार्टीको अध्यक्षबाट प्रचण्डलाई हटाएका छैनन् । उनको कार्यकारी अधिकार मात्र खारेज गरेका छन् । सचिवालयबाट कसैलाई हटाएका छैनन् । उनले यसअघिको कमिटीलाई यथावत् राखेर केन्द्रीय कमिटी विस्तार मात्र गरेको जानकारी आयोगलाई दिएका छन् ।
प्रचण्डले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई बनाएका छन् । यस अर्थमा ओली पुरानो कमिटीलाई यथावत् राखेर विस्तार मात्र गरिएको निर्णयसहित अडिएका छन् । नेपाल अध्यक्ष रहेको निर्णयलाई पनि निर्वाचन आयोगले मान्यता नदिने भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पार्टीको वैधानिकताको छिनोफानो गर्नुपर्ने हुन्छ । राजनीतिक दलसम्बन्धी ऐनले कुनैपनि दल एकीकरण भएको पाँच वर्षसम्म फुट्न नसक्ने स्पष्ट उल्लेख गरेको छ । यस अर्थमा नेकपा फुट्न सक्दैन । फ्ट्नका लागि अध्यादेश ल्याएर ऐन संशोधन गर्नुपर्ने हुन्छ । ४० प्रतिशत केन्द्रीय कमिटी सदस्य अलग हुन चाहँदा पनि नेकपा फुट्न मिल्दैन । किनभने नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा एकीकरण भएको पाँच वर्ष पूरा भएको छैन । नेकपालाई कानुनले पनि फुट्न नदिने तर्क एकता पक्षधरले पनि गर्दै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३