काठमाडौँ – उत्तरी छिमेकी चीनले पनि आफ्नो देशमा उत्पादन भएको कोरोनाभाइरसविरूद्धको खोप नेपाललाई अनुदानमा दिने भएको छ।
काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिटै नेपाललाई अनुदानमा दिने निर्णय गरेको छ।
संसारभरि र चीनभित्रै पनि ठूलो माग भए पनि नेपाल-चीन मित्रताको महत्वका कारण चीनले नेपाललाई भ्याक्सिन दिन लागेको दूतावासले उल्लेख गरेको छ।
चीनले दिएको भ्याक्सिन १ लाख ५० हजार जना मानिसमा लगाउन मिल्नेछ।
चीनले दिन लागेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो। यो भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जनाएको छ। खोपको प्रभावकारिता ७९.३४ प्रतिशत रहेको दाबी गरिएको छ।
दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको उल्लेख गरेको छ। अहिलेसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, युएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जनाएको छ।
नेपालमा भने चिनियाँ खोपलाई अहिलेसम्म अनुमति दिइएको छैन। दूतावासले नेपाली अधिकारीहरूसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिटै खोप नेपाललाई उपलब्ध गराउने बताएको छ।
यसअघि गत साता भारतले नेपाललाई बेलायतको अक्सफोर्ड/अष्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो।
सोही भ्याक्सिन माघ १४ गते फ्रन्टलाइनर्सहरूलाई दिन थालिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३