सामान्य अर्थमा बुझ्ने हो भने, शारीरिक समस्या भएर हलचल, हिड्डुल गर्ने क्षमतामा अवरोध आउँनु एउटा प्राकृतिक प्रक्रिया हो, जुन एउटा साधारण घटना हो । यस्तो घटना हामीमध्य जो कोहिलाई जुन सुकै समयमा पनि घट्न सक्छ । झट्ट हेर्दा कम्जोर लाग्न सक्ने शारीरिक बनोटले मानिसको वास्तविक बौद्धिक क्षमता वा फरक क्षमताको आँकलन गर्न भने पक्कै पनि सक्दैन । तर, यहि यथार्थलाई सामाजिक दृष्टिकोणबाट नियाल्ने हो भने, समाजले भरत जस्ता अपाङ्गता भएका मानिसलाई, विभिन्न दृष्टिबाट साथ र हौसला प्रदान गर्नुको साटो झनै पीडाका पत्थरले हिर्काउने गर्छन् ।
जाजरकोटमा जन्मिएका भरत बि.सिलाई लाग्छ, बाँच्नु मात्र जीवन होइन, जीवन बाँच्नका लागि गरिने संघर्षहरु नै जीवन बाँच्नुको वास्तविक कला हो । सामान्य मानिस होस वा आफुजस्तै फरक क्षमता भएका, उनको भोगाइको अनुभवअनुसार पहिले त मानिसले आफनो अस्तित्वलाई स्विकार्न सक्नु पर्छ अनि मात्र आफ्नो कर्मको जोहो आफै मिल्दै जान्छ ।
जन्मजात पोलियोको सिकार बनेर समय मै उपचार नपाउदा, पोलियोले च्याप्दै लाने क्रममा, उनको दुइवटै खुट्टा आजीवन नचलने भए । धामिझाँक्री देखि स्वाथ्य चौकिका डाकटर सबै धाए, तर पनि शाररिक सुधार एकको दुई भएन । उनको जीवनमा आएको यो शाररीक समस्याले उनको क्षमता माथि नै चुनैतिको ठूलो प्रश्न चिन्हँ खडा गर्यो ।
बाल्यवस्थामा लिप्त भएर रमाउँदै सामान्य जीवन बाँच्ने रहर कसको हुदैन होला र ? नथाकुन्जेल खेल्ने, साथी-भाइसँग हातेमालो गर्दै झोला भिरेर स्कूल दौडिने र अरु जस्तै वस्तु लिएर वनपाखा डुल्ने रहर भरतको पनि नभएको होइन । तर उनको दैनिकी रहरको प्रतिकुल रह्यो । उनका भाइ-बहिनीहरु सबै स्कूल जान्थे, उनी घरमै बसेर आमालाई सहयोग गर्थे । भाइ बहिनीले सिकाएको भरमा घरमै बसेर कखरा लेख पढ गर्ने गर्थे तर यसले उनको स्कूल गएर पढने तिर्खा मेटाउन भने सकेको थिएन ।
स्कूल कस्तो हुन्छ भन्ने जिज्ञासा मेटाउन घिस्रीदै स्कूल नजिकै पुगे भरत । त्यहाँ उनले विद्यार्थीहरु लाइन लागेर पिटी गरेको देखे । जिज्ञासु मनले सोचे स्कूलमा त पढाइमात्रा नहुने रहेछ । यदि उनको पनि अरुको जस्तै खुट्टा चल्ने भइदिएको भए उनी पनि अरु जस्तै सहजै दैनिक स्कूल जान्थे । पढाइसँगै अरु धेरै कुरा सिक्ने थिए ।
सपना बोकेको आखाले विद्यार्थीहरुलाई हेर्दाहेर्दै उनीहरु आ–आफनो कक्षा कोठामा गए । त्यहाँ बसिरहनुको औचित्य नदेखेपछि उनी पनि फर्किए । घर फर्किने क्रममा मानिसले तुक्ष बचनको वाणले हिर्काए भरतलाई । यस्तो लुलो लङ्गडो भएर पनि स्कूलसम्म आएर के देखाउन खोजेको, जस्ता तिखो वचनहरुको वाणले आफू घाइते बनेको उनी अझै सम्झिन्छन ।
समाजको तिखो वचनको वाणबाट जोगाउन आफ्ना माइला छोरालाई घरमै लुकाएर राख्ने परिवारको मायामा सहानुभूतिको आभाष मात्र हुन्थ्यो । भरतको मन र मनोबलले आफनै परिवारको प्रेरणा, प्रोत्साहन र समर्थनको आँड पाएको आभाष समेत गर्न सकेन । उनका लागि समाजमा भएका घर केवल माटोको थुप्रो र मानिसहरु मुर्ति बराबर भइसकेका थिए । उनी आफ्नो जीवनशैली देखेर आफैँ आजित भइसकेका थिए ।
समाजले उनको निम्ति बनाएको सङ्कीर्ण धारणाहरुका कारण उनको कलीलो मष्तिस्कमा अन्तत छाप पारिसको थियो, हो म अरु भन्दा फरक, असक्षम र अपाङ्ग हूँ । आफू अपाङ्ग भएकै कारण सबैसँग छुट्टिनु परेको र यस्तो जीवन बाँच्नुको अर्थ नरहेको निश्कर्षमा भरतलाई समाजले पुर्याइ छाड्यो । उनले खोलामा हाम फालेर आफ्नो प्राण त्याग्न प्रयत्न पनि गरे । तर साथिहरुले उनको जीवनलाई डुब्न नदिएर तैराइदिए ।
संसारमा आफू जस्तै शाररीक समस्यासँग जुद्धै, जीवनलाई अगाडी बढाइरहेका अरु पनि धेरै मानिस रहेको थाहा पाएकै दिनदेखि उनको सपनालाई धूम्म पारेर ढाँकेको तुवालो बिस्तारै फारिदैँ गएको आभाष हुन थाल्यो । धेरै पढ्न नजाने पनि शब्दलाई अडकलबाजि गर्दै काठमाडौँबाट दाइले ल्याएको पत्रिकामा अपाङ्ग भएको मानिसको संघर्षको प्रेरणादायक लेख पढे र त्यस लेखले नै उनको चेतनालाई थप उर्जा प्रदान गर्यो । विवेक, ज्ञान, शिक्षा, मिहेनत र आत्मविश्वास नै आफ्नो सफलताको हतियार हो भन्ने बुझेका भरतले आफ्नो पढाइलाई निरन्तरता दिने संकल्प गरे । उनले घर परिवार समक्ष आफू काठमाडौँ गएर पढ्ने कुरा राखे । परिवारलाई मनाउन सफल पनि भए । बोल्दै गर्दा त्यो क्षणको उनको मुस्कान काफी थियो, खुसिको अभिव्यत्तिका लागि । उनलाई लाग्छ त्यो लेख नै उनको जीवनको टर्निङ्ग पोइन्ट हो, जस्ले एकै धारमा बगिरहेको जीवनको धार नै परिवर्तन गरिदियो ।
जाजरकोटमा रहदा बन्द चार कुना कोठा भित्रै सिमीत रहेर, आफ्ना इच्छा आकांक्षा र जिज्ञासाहरुलाई बन्धकी बनाइ राखेका भरतलाई आखीरमा काठमाडौँले डोहोराइ छाड्यो ।
पढ्न पाउने खुसीको थुप्रो एक ठाउँमा थियो भने, आइ लाग्ने विभिन्न समस्याहरुको भारी अर्को ।
काठमाडौँमा उनी नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र, डिसेबल रीहाबिलीटेसन सेन्टर (डि.आर.सि) होस्टेलमा भर्ना भए । त्यसपछि उनको पढने क्रम कक्षा ४ देखि सुरु भयो । एकै चोटि कक्षा ४ मा भर्ना भएका भरतलाई पढाइ अगाडि लैजान निकै कठिनाइको सामना गर्नु पर्यो । शिक्षकहरुले पढाइ छोडेर अन्य शिप सिक्ने सल्लाह दिन्थे तर पनि उनले पढाइलाई नै विशेष जोड दिएर, होस्टेलका अरु अपाङ्ग विद्यार्थीलाई पढाउने गुरुआमाहरुसँग ट्यूशन पढ्न थाले । सबैले केहि गर्न सक्दैनस् भन्ने प्रतिक्रियाको प्रतिकूल नतिजा ल्याएर देखाउने प्रण लिएका थिए भरत । आखिरमा विस्तारै उनको पढाइमा निखारपन आउँदै गयो र अन्तः उनले एस.एल.सीमा डिस्टिङसन ल्याए । यो उपलब्धिले उनको जीवनमा अरु धेरै अवसर र चुनौतीको ढोका समेत उघारिदियो ।
भरतलाइ लाग्थ्यो, गाउँमा शिक्षा र ज्ञानको अभावले गर्दा समाजले उनको फरक क्षमतालाइ पहिलाउन नसकेको होला । काठमाडौँको भिड शिक्षित र आधुनिक्ताको भिड लाग्थ्यो उनलाई । तर बत्तिले उज्यालिएको काठमाडौँ, सोचाइमा भने जाजरकोट जस्तै अन्धकार लाग्यो । उनलाई हेर्ने जाजरकोटको आखा र काठमाडौँको आखामा खासै अन्तर थिएन । एस.एल.सी. पछि होस्टलमा बस्ने अवधी सकिएसँगै उनी डेरा र कलेज खोज्ने तिर लागे । अपाङ्ग भएको व्यक्तिले कोठा सफा राखदैन भन्ने जस्ता विभिन्न धारणाहरुले डेरा पाउन निकै गाह्रो भयो भरतलाई । जसोतसो किर्तिपूरमा कोठा त पाए तर कलेज खोज्न निकै हन्डर खेप्नु पर्यो । आफ्नो समस्या अनुकुल वातावरण भएको कलेजको खोजिमा थिए भरत । धेरै संघर्ष पछि कुमारीपाटिको वेलह्याम्स कलेजमा मानविकी संकायमा पढने अवसर मिल्यो ।
पढाइलाई निरन्तरता दिदै खालि समयमा बालबालिकाहरुलाई ट्यूसन पढाउन थाले । त्यहि क्रममा आफू जस्तै साथिभाइहरुले ह्विलचियर बास्केटबल खेल्ने गरेको कुरा थाह पाए । सानै देखि खेलकुदमा रुची राख्ने भरतलाइ बास्केट बल भन्ना साथ भित्रैबाट जोश जागेर आयो । अन्तः उनको ह्विलचेयरले बास्केट बल कोर्टको स्पर्ष गरेरै छाड्यो । एस.एल.सी दिनु अगाडि टेलिभिजनमा बास्केट बल प्रतियोगिता हेर्दा आफू पनि बास्केट बल खेलाडी बन्ने गरेको संकल्पलाई सार्थकता दिने मौका मिलेपछि निखार्ने अभ्यासमा लागे ।
केही गर्नै नसक्ने दर्जा दिएको समाजलाई आफ्नो क्षमताको वास्विकता प्रष्ट्याउन थप उर्जा दिएको महसुस गर्दै बास्केट बललाई नेटमा छिराउने प्रयासमा लागि परे ।
उनलाई देशको निम्ति खेल्नु थियो । जावलाखेल ह्विलचियर खेलकुद क्लबका अध्यक्ष चुनिएका भरतलाई ह्विलचियर बास्केटबलको दायरा बढाउनु थियो । दिनरात मिहेनतका साथ क्लबलाई अगाडि बढाए । विभिन्न स्कूल गएर स-साना बालबालिका सामु ह्विलचियर बास्केट बलको प्रदर्शन गरे । यसरी बालबालिकाको सोचमा सानै देखि परिवर्तन ल्याउनुपर्छ भन्नेमा भरत सजग रहे ।
बास्केट बलकै सन्दर्भमा उनी विभिन्न देशहरुमा गएर विभिन्न प्रशिक्षणहरुमा सहभागी हुने अवसर पनि पाएका छन् । बास्केट बलमा सक्रिय रुपमा संलग्न छन् । जावलाखेलमा रहेको उनको कोठाभरी सजिएका प्रमाणपत्र र पुरस्कारहरु साक्षी थिए उनको प्रतिभालाई मुलायांकन गराउनको लागि । भरत हाल एक एन.जी.ओ.मा कार्यरत छन् । गर्न सकदैन भन्ने लिस्टलाई गर्न सक्नेमा उतारेका भरत अहिले आफनो जीवनसँग सन्तुष्ट छन् । आफनो खुट्टामा आफै उभिएका छन् । कसैको भर पर्नु परेको छैन । परिवार पनि खुसि छन् । सबैले प्रशंसा गर्छन् । अपाङ्ग भयो भन्दैमा केहि गर्न सक्दैन भन्ने समाजलाई आफनो प्रचुर सम्भावना पस्केर देखाएका छन् । धेरै उनीबाट प्रभावित भएर उनलाई प्रेरणाको स्रोत बनाएको देख्दा आफैसँग गर्व महसुस गर्छन् ।
हाम्रा धेरै सपनाहरू सुरुमा असम्भव जस्तो लाग्छ, अलीपछि सम्भाव्य लाग्दै आउँछ, र हामी भित्र पलाएँको इच्छाशक्तिले चाँडै नै अपरिहार्यमा बद्लिदिन्छ । भरतको जीवनको भोगाइ पनि हेलेन केलरको यो भनाइको सेरोफेरोमा मेल खाना पुगेछ । उनको सफलता नै यो भनाइको लागी एउटा पेचिलो उदाहरण बनेको छ ।
हाल पाटन क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तरको अध्ययन गर्दै गरेका भरतलाई लाग्छ, परीवर्तन शब्द आफैमा एउटा धैर्यता बुझाउने अर्थपूर्ण भाव बोकेको प्रक्रिया हो र यसको सुरुवात पनि आफैबाट हुनु पर्छ । जीवन स्वयं संघर्षहरुको संग्रह हो, त्यसैले मानिसले कहिलै हार मान्नु हुदैन ।
भिडियोमा हेर्नुहोस :
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३