नेपालका प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका अधिकांश नेताहरु समयमा कार्यक्रमस्थल पुग्दैनन् । सभा, सम्मेलन, बैठक वा कुनै सार्वजनिक कार्यक्रममा नेताहरुलाई घण्टौं कुर्नुपर्ने विषय नेपालमा सामान्य बनिसकेको छ ।
तर, जापानका एक मन्त्रीले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामना मात्र गर्नुपरेन, क्षमासमेत माग्नु परेको छ ।जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागे ।
जापानमा पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन । सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।
जापानमा उनको योग्यताबारे आसाही सिम्बुन पत्रिकाले मत सर्वेक्षण पनि गरेको थियो । सर्वेक्षणमा उनको पक्षमा १३ र विपक्षमा ६५ प्रतिशत मत परेको नतिजा सार्वजनिक भएको थियो ।
दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका महिलाहरूलाई ‘व्यावसायिक वेश्या’को संज्ञा दिएपछि उनी निकै आलोचित भएका थिए ।
साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका उनले आफूले कहिल्यै कम्प्युटर नचलाउने र सधैं कर्मचारीको सहयोग लिने गरेको बताउँदा पनि आलोचना भएको थियो ।
पछिल्लो पटक ल्यूकेमिया रोगबाट पीडित जापानकी पौडी खेलाडी रिकाको इकीको विषयमा दिएको अभिव्यक्तिमा पनि उनको आलोचना भएको थियो । रिकाको इकीलाई ल्यूकेमिया रोग लागेको खुलासा भएपछि मन्त्री योशीताकाले भनेका थिए, ‘उनीप्रति हाम्रो ठूलो आशा थियो, म निराश भएको छु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३