काठमाडौं – संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले एमिकस क्युरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरी पठाउन आदेश दिएको छ । इजलासको आदेशअनुसार एमिकस क्यूरीका रूपमा सर्वोच्च अदालत बार र नेपाल बारले दुई/दुई सदस्य पठाउने छन् ।
यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो । इजलासको आदेशअनुसार विपक्षीले लिखित जवाफ बुझाइसकेपछि सो रिटमाथि सुनुवाइका लागि पुनः पेसी तोकिएको हो । इजलासले एमिकस क्यूरीको बहस सुनेर मात्र आवश्यक आदेश हुने ठहर गरेको हो ।
अधिवक्ता गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने दाबी उक्त रिट निवेदनमा गरेका छन् । संवैधानिक परिषद्ले गरेका नियुक्तिविरुद्धको रिटमा सुनुवाइका लागि बस्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न हुने कि नहुने भन्नेबारे इजलासमै पनि बहस भएको थियो । बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केही सर्त राख्दै उक्त मुद्दाको सुनुवाइमा आफ्नो भूमिकालाई घटाएका थिए । प्रधानन्यायाधीश जबराको सो निर्णयपछि प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न नमिल्ने भन्दै रिट निवेदन दायर गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३