श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।
आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमिकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए ।
उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताए । उनले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताए । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन । मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने । हामी खाडीमा गइरहेका छाैँ, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमीकहरु छैनन् । हाम्रा श्रमिकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने ? यस बारेमा सोच्नुपर्छ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । भिजिट र लुकेर गएकाको संख्या कति हो यकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरुलाई केही पनि सुविधा दिँदैन ।’
श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा र अरु पनि सुविधा रहेकाे भन्दै उनले थपे, ‘यो कुरालाई सञ्चारमाध्यमले बाहिर ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो । अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरुको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाव नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’
मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३