चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार राष्ट्रपति निर्वाचनसहितका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आफ्नो प्राथमिकता रहेको भन्दै सहमतिबाटै आगामी राष्ट्रपति चयन गर्नुपर्ने बताएका थिए ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले भने एमालेले राष्ट्रपतिमा आफ्नो दाबी नछाड्ने भन्दै सत्ता समीकरणको सुरुवात हुँदा नै सो सहमति भएको प्रधानमन्त्री प्रचण्डलाई सम्झाएका थिए ।
‘पछिल्लो समय राष्ट्रपतिको विषयलाई लिएर ओली र प्रचण्ड एकअर्काबीच सशंकित हुन थालेका छन्,’ स्रोत भन्छ ।
केही समययता माओवादी केन्द्रभित्र राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने र एमाले इतरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ । गत शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्ड पनि त्यही लाइनमा छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार (आज) पनि बस्दै छ । निर्वाचन आयोगले भने २५ फागुनमा नयाँ राष्ट्रपति चयन गर्न निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताउँदै आएको छ ।
राष्ट्रपतिमा प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । कांग्रेसले केही दिनअघि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा आफ्नो दलका तर्फबाट उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३