असार पहिलो साता पाँचथरमा बाढी र पहिराले पुर्याएको क्षतिको निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पाँचथरको फिदिम पुगेका छन् । बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनर्निर्माणका कार्यमा ढिलाई नगर्न समेत मन्त्री ज्वालाले निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा कुनै पनि प्रकारको ढिलाई नगर्न सरोकारवाला निकायहरुलाई मन्त्री ज्वालाले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिराको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफूले सरकारको प्रतिनिधिका रुपमा आएको बताउँदै मन्त्री ज्वालाले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे ।
“राहत, क्षतिपूर्ति र पुनर्निर्माणको कार्य नियमित काम जस्तो होइन्, यसमा ढिलाई हुनु हुँदैन्”, मन्त्री ज्वालाले भने, “अहिले सबै स्रोत साधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।” उनले बाढी पहिराका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन र स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उनले सुरक्षा निकायलाई निर्देशन दिए ।
असार २ गते आएको बाढीले क्षति पुर्याएको मेची राजमार्ग, तमोर कोरिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वाला सहितको टोली पाँचथर आएको हो । मन्त्री ज्वालाले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रकृया अघि बढाइने पनि बताए । यस्तै बाढीले बगाएको तमोर कोरिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकिन गरेर कार्य थालिने बताए ।
मन्त्री ज्वालाका साथ पूर्वमन्त्री वसन्तकुमार नेम्बाङ, सडक विभागका महानिर्देश सुशीलबावु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल लगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायका अधिकारीहरु सहभागी छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३