प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट नेपालका पर्वतीय पारिस्थितिकी प्रणालीमा असर पुगेको र जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा असर गरेको भन्दै नेपालले न्याय पाउनुपर्ने बताएका छन् । उनले पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्नेमा जोड दिए ।
बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले पर्वतीय देशहरूका नागरिकमा देखा परेको भयावह अवस्थाको सम्बोधन हुनुपर्ने बताएका हुन् ।
“हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिहरू र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,” प्रधानमन्त्रीले थपेका छन् “जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।”
स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यकता भएको उल्लेख गर्दै दाहालले समान र पारदर्शी तवरले हानि र क्षतिको कोषको पूर्ण सञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् ।
“हामी पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू, स्वदेशी जनजाति र स्थानीय समुदायहरूलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।”
नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०४५ सम्ममा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
“स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत सम्भावनाको पूर्ण उपयोग गर्नेछौँ । पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दै छौँ,” दाहालले भनेका छन् ।
दाहालले पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षणका साथै जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन सबैलाई एक हुन आग्रह पनि गरेका छन् ।
उनले भनेका छन्, ‘पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकीय प्रणाली र पर्वतीय बासिन्दाहरूको संरक्षण र प्रबद्र्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ । पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गरौँ ।’
उक्त संवादले पर्वतीय देशहरूका सरकारहरू र सरोकारवाला निकायहरुलाई पर्वतीय–जलवायु चिन्ता र समाधानहरूलाई राम्रोसँग बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्ने विस्वास दाहालको छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजना गरेको ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा २५ देशका ५० भन्दा बढी विषयगत विज्ञहरुको सहभागिता रहनुका साथै २०० प्रतिनिधिहरुले कार्यक्रममा सहभागीता जनाउने मन्त्रालयले जनाएको छ । दुईदिन सम्म काठमाडौंमा चल्ने संवादको निष्कर्षलाई एसबिएएसटिएका अध्यक्ष भिरुयल्सलाई हस्तान्तरण गर्ने तयारी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३