काठमाडौँ – साबुन पानीले २० सेकेण्डसम्म मिचीमिची हात धोए कोरोना भाइरस रहदैन तर असुरक्षित तरिकाले हात धुदा भने संक्रमणको जोखिम उत्तिकै हुन्छ । सार्वजनिक स्थलमा रहेका हात धुने धाराको स्पर्षमा आउदा संक्रमण फैलने जोखिम उतिकै रहन्छ ।
यसै समस्यालाई समाधान गर्ने हेतुले गैर सरकारी संस्था गुठिद्वारा वाटर एडसंगको सहकार्यमा स्पर्ष रहित हात धुने धारा स्थापना गरेको छ । काठमाडौँ र ललितपुरको विभिन्न ५० भन्दा बढी सार्वजनिक स्थलमा यस्ता धाराहरु जडान गरिएका छन् ।
सार्वजनिक स्थलमा स्पर्षरहित धारा रहेका कारण सर्वसाधरणहरु लाभान्वित भएको र यस धाराको नियमित प्रयोग भइरहेको बानेश्वरका व्यवसायी अमृत अधिकारीले बताए । उनको औषधि पसल अगाडि नै स्पर्षरहित हात धुने धारा छ ।
काठमाडौँ महानगर वडा ६, बौदनाथको स्तुपा रहेको चर्चित वडा हो । त्यसै वडाका वडाध्यक्ष दिपेन्द्र लामाले यस किसिमका धारा बारे सर्वसाधरणको प्रतिक्रिया सकारात्मक रहेकाले यसको माग पनि बढेको बताए । यसै वडाका वडासदस्य जयराम पुडासैनीले सहयोगी संस्थाले नै हाल यसको उचित रेखदेख गरिरहेको र वडाले यसको संरक्षण गरिरहेको जानकारी दिए ।
सार्वजनिक स्थलमा मात्र नभएर सफाइकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न फोहर मैला संकलन केन्द्रहरुमा पनि यस्ता धाराको जडान गरिएको छ । यसले फोहर मैला संकलनमा काम गर्ने श्रमिकहरु पनि प्रत्यक्ष लाभान्वित भएका छन् ।
लकडाउनको अवस्थामा पनि अत्यावश्यक कार्यहरु नरोक्न सरकारले अवहान गरेको थियो । यसै अत्यावाश्यक कार्य अन्तर्गत नै पर्दछ फोहर मैला व्यवस्थापन । सफाइकर्मीहरुले खाजा खानाको समयमा विशेष स्पर्षरहित हात धुने धाराको प्रयोगले सहज भएको र संक्रमणको जोखिम पनि कम भएको फोहर मैला व्यवस्थापन संघका महासचिव मित्र प्रसाद घिमिरेले बताए ।
बिगतका दिनमा कम सुरक्षित तरिकाले हात धोइरहेका सफाइकर्मीलाई स्पर्षरहित हात धुने धाराले निकै सहज बनाएको सफाइकर्मीहरुले पनि बताए ।
बजारमा हिड्डुल गर्ने, सफाइकर्मी लगायत धेरै सर्वसाधरणहरु यस धारा बाट लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखाका सभापति योगेश कुमार खड्गीले बताए । महानगरले यस किसिमका धारालाई उच्च प्राथमिक्तामा राखिनु पर्ने पनि उनको धारणा छ ।
स्पर्षरहित र सुरक्षित हात धुने धारा आफ्नो वडामा पनि आवश्यक्ता भएको र वडामा यस बारेमा जानकारी गराइसकेको भएपनि सुनुवाई नभएको किर्तिपुरकी स्थानीय एक महिलाले गुनासो गरिन् ।
किर्तिपुर नगरपालिका भित्र मात्र यस्ता धारा १० हाराहारीको संख्यामा छन् । सुरुमा अन्यौलताकारण यस्ता धाराहरुको प्रयोग न्युन्य रहेपनि हालको अवस्थामा यस्को प्रयोग निकै बढेको किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए । कोरोना महामारीको पुर्णरुपमा नियन्त्रण वा उन्मुलन नहुदासम्म यसको प्रभावकारिता झन् बढी रहने पनि उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३