कृष्णा यादब, वीरगंज – वीरगन्जमा विरामी उपचारको नाममा निजी अस्पतालले ब्रह्मलुट मच्चाएको आरोप लाग्ने गरेको छ। उपचारका लागि आएका विरामीहरुसँग मनोमानी ढँगबाट रकम असुली गरि रहेको तथ्य फेला परेको छ ।
कोरोना संक्रमणको बेला नारायणी अस्पताललाई कोभीड अस्पताल बनाएपछि निजी अस्पतालतर्फ धाउन बाध्य भएका सर्वसाधारणहरुलाई यहाँका निजी अस्पतालले सकेसम्म चर्को पैसा असुल्ने गरेको तथ्य सार्वजनिक भएको हो ।
साधारण चोट लागि उपचारका लागि वीरगन्ज महानगरपालिका वडा नं. ८ पानीटंकी स्थित रहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.मा आएका एक व्यक्तिसँग अस्पतालले एक दिनमा २० हजार रुपैया असुली गरेको छ । सडकमा लडेर सामान्य चोट लागेका ६ वर्षीय बालकलाई उपचार गराउन आउँदा एक दिनमा २० हजार रुपैया तिर्नु परेको विरामीका आफन्तले बताएका छन् । शनिबार विहान बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरका ६ वर्षीय बालकलाई आई.सि.यू. कक्षमा राख्नुपर्ने भन्दै अस्पतालले भर्ना गरेको थियो ।
मोटरसाइकलमा अस्पतालसम्म सामान्य आवस्थामा पुगेका बालकलाई आई.सि.यू.मा भर्ना गराई सिटि स्क्यान गर्नुका साथै सम्पूर्ण शरिरको चेकजाँच गर्नुपर्छ भन्दै अन्धाधुन्ध बिल बनाएको अस्पतालले आइतबार दिउँसो ३ बजेदेखि सोमबार दिउँसो ३ बजेसम्ममा २० हजार रुपैया बुझि सकेको बालकका परिवारले गुनासो पोखे।
अस्पतालले एउटा साधारण प्यान बिल काटेर हातले विभिन्न शिर्षकमा लागेको खर्चको विवरण लेखि विरामीका आफन्तलाई थमाइदियो । एक दिनको बिल हेर्ने वित्तिकै आफन्तले चकित पर्दै साधारण चोटपटक लागेको बच्चालाई यति खर्च कसरी लाग्यो भन्दा डाक्टरसाबले जे जे भन्नुभएको छ, त्यो सबै चेकजाँचको पैसा रहेको भन्दै बेतुकको जवाफ पायो ।
अस्पतालले दिएको हस्त लिखित रसिदमा आई.सि.यू. कक्षको शुल्क रु ५ हजार, डाक्टर राउण्ड शुल्क रु १ हजार ५ सय, एडमिशन शुल्क रु ५ सय २५ रुपैया, नर्सिङ्ग शुल्क रु ४ सय, ल्याब शुल्क रु ५ हजार ४५ रुपैया, अर्को डाक्टर (जसले भर्ना गर्यो) शुल्क रु १ हजार, एक्सरे चार्ज रु ४ सय २० रुपैया, एन.सि.सि.टि. अफ ब्रेन शुल्क रु ४ हजार २ सय, इमर्जेन्सी टिकट रु ३ सय २५ रुपैया गरि रु १८ हजार ४ सय १५ रुपैयाको रकम उल्लेख छ ।
अस्पतालकै रसिद अनुसार अन्य निजी अस्पताल भन्दा सबै शुल्कमा डेढ देखि दुई गुणासम्म शुल्क बढि लिइएको देखिन्छ । वीरगन्जको कुनैपनि निजी अस्पतालमा एक दिनको आई.सि.यू. शुल्क रु ५ हजार छैन, २ हजार ५ सयदेखि ३ हजारसम्म छ । ल्याब शुल्क कुन शुल्क हो भन्ने अस्पतालसँग पनि चित्त बुझ्दो जवाफ छैन । ल्याब शुल्कको बारेमा बुझ्दा पुरै शरिर चेकजाँच गरे वापत शुल्क लिइएको बताउँछन् । चोट लाग्यो टाउकोमा त सिटि स्कयान्सम्म ठीक छ, पुरै शरिर किन चेकजाँच गर्नुपर्यो भनेर विरामीले सोध्दा पुरै शरिर चेकजाँच विना औषधी दिन नमिल्ने जवाफ अस्पतालले दिएको विरामीको आफन्तको गुनासो छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७