काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।
शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले वैचारिक बहस नगरी महाविशेनमा गर्ने प्रस्तावमा प्रश्न उठाएका थिए ।
तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावमा आफूले कुनै सहमति नगरेको बताएका छन् । ‘छलफल गरौं सम्म भनेको हुँ, तर हाम्रो कुनै सहमति भएको छैन,’ उनले भने ।
अर्का अध्यक्ष ओलीले महाधिवेशन गर्नका लागि नभई भुल्याउन अर्को कार्ड फालेको महसुस आफूलाई भएको उनले बताए । विचारमा छलफल नै नभएको र सदस्यता टुंगो नलागेको अवस्थामा महाधिवेशन मंसिरमा सम्भव नभएको प्रचण्डले बताएका छन् ।
‘मैले हिजै हुँदैन भनेको थिएँ, बाहिर गलत समाचार सम्प्रेषण भयो । मैले हिजै मेरो सचिवालयबाट खण्डन गर्न लगाएँ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘म तपाईंहरुको सुझाव र भावनाभन्दा बाहिर गएर कुनै पनि सम्झौता गर्दिन ।’
नेताहरुले प्रचण्डलाई शीतल निवासचाहिँ किन जानुभयो ? भन्ने प्रश्नसमेत गरेका थिए । जवाफमा उनले पूर्वनिर्धारित कार्यक्रम नभई अपर्झट गएको प्रष्टीकरण दिएका छन् । ‘शीतल निवासमा जाने कुनै कार्यक्रम थिएन, अरु साथी पनि गएका रहेछन्, तपाईं पनि आउनुपर्यो एकछिन भन्नुभयो । त्यहाँ अपर्झट गएको हो,’ प्रचण्डले भने ।
खुमलटारमा भएको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मुकुन्द न्यौपाने, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाल, पम्फा भुसाल, वर्षमान पुन र मात्रिका यादव सहभागी थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७