काठमाडौँ – बाढी र पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्न कम्तिमा पनि २ दिन लाग्ने भएको छ ।
सो राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेको र मौवाखोलाको पुल नै बगाएकाले मर्मत सम्भार गरेर बाटो खोल्न कम्तिमा २ दिन लाग्ने सडक विभागले जनाएको छ ।
डिभिजन सडक कार्यालय भरतपुर अन्तर्गत रहेको सो सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी रहेको कार्यालयका प्रमुख ई. कृष्णराज अधिकारीले बताए ।
बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ।”
मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए। यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए।
उनले भने, “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ।” अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए।
वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ।
यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन। डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ। काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिए।
सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो। चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ।
मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए।
सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने सयौं सवारी साधन सडकमा अलपत्र परेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७