वीरगञ्ज – पर्सामा थप ३४ जनामा नोबेल कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा विभिन्न व्यक्तिहरुको पछिल्लो समय स्वाबको परिक्षण गर्दा थप ३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालको पीसीआर ल्याबमा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नयाँ थपिएका सङ्क्रमित २ देखि ६५ वर्ष उमेरका रहेका छन् भने नेपाल प्रहरीका प्रहरी जवान, नेपाली सेनाका सैनिक र कैदीबन्दीमासमेत सङ्क्रमण देखिएको छ।
‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ डा. उपाध्यायले भने । क्वारेन्टिनमा बस्दै आएका, कन्ट्याक्ट ट्रेसिङ र पेड पिसिआर परिक्षण गराएकाहरुमा पनि सङ्क्रमण देखिएको उनले जानकारी दिए ।
सङ्क्रमितमध्ये २० जना वीरगञ्ज महानगरपालिकावासी रहेका छन् । उनिहरु वीरगञ्ज महानगरपालिकाको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दा हुन् । त्यसैगरी नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको डा उदयनारायण सिंहले जानकारी दिए ।
उनले वीरगञ्जमा सञ्चालित कोभिड अस्थायी अस्पताल गण्डकमा सिमित बेड भएकोले थपिएका सङ्क्रमितहरुलाई अस्पताल भर्ना गर्न नसकिएको बताए । यसअघि थपिएका ४८ जना सङ्क्रमितपनि होम आइसोलेसनमा बस्दै आएका छन् ।
‘थप आइसोलेसनको व्यवस्था नहुँदा थपिएका नयाँ सङ्क्रमित घरमै बस्न बाध्य छन्,’ मेसु डा. उपाध्यायले भने, ‘छिट्टै आइसोल्सन व्यवस्था नभए स्थिति गम्भीर हुनसक्छ ।’
होम आइसोलेसनमा सङ्क्रमितहरु बस्दा सङ्क्रमण फैलन जोखिम थप बढ्ने चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । होम आइसोलेसनमा मापदण्ड पूरा नहुँदा परिवारजनमा समेत सङ्क्रमणको जोखिम बढ्ने जनरल फिजिसियन डा. घनश्याम यादवले बताए ।
वीरगंज स्थित रहेको गणडक कोभिड हस्पिटल जम्मा ५० बेड क्षमता भएको गण्डक कोभिड अस्थ्यायी अस्पतालमा हाल ६२ जना सङ्क्रमितहरुको उपचार चलिरहेको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए । जसमध्ये पाँच जना आईसीयुमा छन् भने आठ जनालाई त्रिजुद्ध स्कुलको क्वारेन्टिनमा राखिएको छ । त्यसैगरी पाँच जना पर्सागढीको क्वारेन्टिनमा, ३ जना सखुवा प्रसौनीको क्वारेन्टिनमा र १ जना ठोरीको क्वारेन्टिनमा राखिएका छन् । वीरगञ्ज वाहेक जिल्लाका अन्य पालिकाहरुले आइसोलेसन बनाउन सकेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७