काठमाडौं – काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।
पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ । अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनलाई आइसोलेसन बनाइने भएको छ ।
उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
उनले पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने बताए ।अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा ३ सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन् । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा भएका सबै क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्न लागिएको छ । उक्त कार्यका लागि भक्तपुरका चारवटै नगरपालिकाको लागत साझेदारीमा आइसोलेसन निर्माण गर्न लागिएको हो ।
उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७